असार २— गौरादह नगरपालिकाको सामाजिक विकास समितिका संयोजक दुर्गामणि बस्नेतले गौरादह नगरपालिकाले जनस्वास्थ्यका सरोकारका विषयलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ। नगरपालिकाको सहयोगमा एफएम प्लस ८९.१ मेगाहर्जले आइतबार आयोजना गरेको ‘जनस्वास्थ्य सरोकारमा गौरादह नगरपालिका’ विषयक रेडियो अन्तरक्रिया कार्यक्रममा सहभागीहरूको जिज्ञासा एवं गुनासोको सम्बोधन गर्दै संयोजक बस्नेतले नगर अस्पतालको सेवा प्रवाहमा ल्याइएको सुधार तथा वडा–वडामा जनस्वास्थ्यसँग सम्बन्धित विषयमा भइरहेका कार्यहरूको जानकारी गराउँदै अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो। नगर अस्पताल तथा अन्य स्वास्थ्य सरोकारका क्षेत्रमा देखिएका समस्याहरूलाई नगरपालिकाले स्रोत–साधनले भ्याएसम्म सम्बोधन गर्ने उहाँले बताउनुभयो।
नगरको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत मेलिना काफ्लेले स्वास्थ्य शाखाअन्तर्गत भइरहेका कामको जानकारी गराएपछि सुरु भएको कार्यक्रममा गौरादह नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हरि घिमिरेले नगर अस्पतालसँग सम्बन्धित विषयमा सेवाग्राहीहरूले उठाएका जिज्ञासा एवं गुनासाहरूको जवाफ दिँदै तत्काल सुधार गर्न सकिने विषयमा ध्यान दिने प्रतिबद्धता जनाउनुभयो।
अस्पतालको सेवा प्रवाहमा देखिएका कमजोरीका विषयमा सुझाव दिँदै युवा सामाजिक व्यक्तित्व कुमार पौडेलले सुधारका प्रयासहरूको सराहना गर्नुभयो। सेवाग्राहीका तर्फबाट गौरादह–२ निवासी असाध्य रोगका बिरामी छविलाल चुडालसहित नगर अस्पतालका सेवाग्राहीका तर्फबाट गौरादह–१ निवासी पर्शुराम दंगाल तथा गंगा सापकोटाले आफ्ना सुझाव तथा आवश्यकताका विषयहरू उठान गर्नुभएको कार्यक्रममा नगर अस्पतालका सिनियर अहेव अधिकृत भानुभक्त दाहाल, स्वास्थ्य स्वयंसेविका मेनुका बस्नेतलगायतले सेवा प्रवाहका विषयमा जानकारी गराउनुभएको थियो।
एफएम प्लस ८९.१ मेगाहर्जको साक्षात्कार कक्षमा दुई घण्टासम्म सञ्चालन भएको कार्यक्रमको सञ्चालन एफएमका प्रबन्ध निर्देशक युवराज भट्टराईले गर्नुभएको थियो। कार्यक्रमको व्यवस्थापन तथा प्राविधिक संयोजन स्टेसन संयोजक मञ्जु डाँगीले गर्नुभएको थियो भने प्राविधिक सहयोग रमिसा कुँवरले गर्नुभएको थियो।

