भुजेल समुदायको ऐतिहासिक उद्गम र सांस्कृतिक सन्दर्भको विषय प्रवेशः
हालको बागलुङ जिल्लाभित्र पर्ने ढोरपाटन क्षेत्रलाई भुजेल समुदायको उद्गम थलोका रूपमा लिइन्छ। ऐतिहासिक दृष्टिले हेर्दा, भुजी उपत्यकामा अवस्थित भुजी खोलाको किनारमा बसोबास गर्ने जनसमुदाय, तथा उक्त क्षेत्रका भोजपत्रले ढाकिएका घना वन क्षेत्रहरू, भुजेल समुदायको नाम र परिचयसँग निकट सम्बन्धित रहेका छन्।

भुजी उपत्यकाको नामबाट नै “भुजेल” शब्दको उद्भव भएको देखिन्छ, जसले सो क्षेत्रका निवासीहरूलाई सामूहिक रूपमा सम्बोधन गर्न प्रयोग गरिएको हो। त्यसैगरी, घर्ता खोलाको किनार तथा घर्ताकोटमा बसोबास गर्ने घर्तीहरू र निसी खोलाको आसपासका निसेल समुदायहरू समेत क्रमशः भुजी राज्यअन्तर्गत समाहित हुँदै गए। यसरी भुजी राज्यमा भुजेल, घर्ती र निसेल समुदायबीच सहअस्तित्व, सामाजिक सहकार्य र सांस्कृतिक आदान प्रदानको सम्बन्ध विकसित हुँदै गएको पाइन्छ। ऐतिहासिक अभिलेखअनुसार, बाइसे चौबिसे राज्यकालमा वि.सं. १३७२ सम्म भुजी राज्यको अस्तित्व रहेको उल्लेख छ। यस अवधिपछि, तत्कालीन गल्कोटका राजा द्वारसिंह मगरले भुजी राज्यमाथि आक्रमण गरी विजय प्राप्त गरेपछि, भुजेल समुदायका धेरै सदस्यहरू सुरक्षाका कारणले विभिन्न दिशामा विस्थापित भए। कतिपय समूहहरूले आफ्ना धर्म, संस्कृति र परम्परालाई संरक्षण गर्दै अन्य क्षेत्रमा सामूहिक रूपमा बसोबास गरे भने, कतिपयले स्थानीय अन्य जातिसँग सहअस्तित्व कायम राख्दै मिश्रित रूपमा जीवन निर्वाह गर्न थाले। खवास समुदायको उत्पत्तिको सन्दर्भमा हेर्दा, यसका जरा गोर्खा राज्यको प्रारम्भिक इतिहाससँग गहिरो सम्बन्धित देखिन्छ। गोर्खा राज्यका संस्थापक राजा द्रव्य शाहले राज्य स्थापनाक्रममा मुरारी खवासको महत्वपूर्ण सहयोग पाएको ईतिहसमा उल्लेख भएको पाइन्छ। गोर्खाली शाह शासकहरूले पर्वत राज्यको गौरवपूर्ण परम्परालाई स्मरण गर्दै, भुजेल समुदायका वीर र निष्ठावान् सदस्यहरूलाई गोर्खा आमन्त्रित गरे। त्यहाँ पुगेर, तिनले “खवास” पदवीका रूपमा राजदरबारमा सम्मानित स्थान प्राप्त गरे र त्यसैबाट “खवास” नामको सामाजिक पहिचानको विकास भएको भन्ने पाइन्छ।
यस बाहेक, भुजेल र घर्ती समुदायको उत्पत्तिसँग सम्बन्धित मौखिक वंशावली र परम्परागत आख्यानहरू पनि प्रचलित छन्। ती आख्यानअनुसार, दैवी शक्ति (वा अज्ञात शक्ति) र मानव कन्याको सम्बन्धबाट पहिलो (भुजेल = भूमि र जलको सम्बन्धबाट जन्म भएको) घर्ती पुरुषको जन्म भएको विश्वास गरिन्छ। उक्त “दैवी शक्ति” लाई कतिपय परम्परागत कथनमा देवताको अदृश्य शक्तिको रूपमा व्याख्या गरिएको छ। दैवी मूलबाट जन्मिएकोले उनलाई “धरतीपुत्र” भनिएको र भाषिक अपभ्रंश हुँदै “घर्ती” नाम प्रचलनमा आएको उल्लेख भएको पाइन्छ। अर्को एउटा महत्वपूर्ण श्रुतिको प्रसङ्ग यस्तो छ कि भूमि र जलको दैविशक्तिका कारण जन्मिएको सन्तान भएकाले “भुजेल भनिएको” हो। यद्यपि, यस प्रकारका आख्यानहरूलाई आधुनिक वैज्ञानिक मानव विकास सिद्धान्त र सभ्यताका ऐतिहासिक प्रमाणहरूसँग तुलना गरी यकिन गर्न कठीन हुन्छ।
भुजेल जातिका थर र उपथरहरुः
(क) घर्तीः मसाल, द्यौपहरे, अघुली/अर्धोली, दर्लामी, कवाली, कालीकोट्य/कालीकोटे, अत्रासे, गलामी, सुतपहरे, सिंजापति, वईमा, रामज्याली, वन्ज्याली, भोम्पाल, छन्तेल/छन्त्याल, रान्गु/रेगु, भन्टा, बुलामी, दगामी, पूर्जा, गमल, हुन्ज्याली, लाम्छाने/लामिछाने, रावल, गरबुजा, काग्जा, मचाल/मसाल, रिजाल,
गिअल, काउचा, मसराडगी, सालमी, वाले,काला, पहरे/पहरिया, समे, रोका, रोकाहा, राड्ङ्खानी, पारे, सरबुजा, पामा, केन्नो, पाजा, सारू, फुङ्गा, कोन्सा,फगामी, तालाजी, पहाडे/पहाडीया, थेरे, फुकान, सेन/स्यान, उलाङ्गे/उलोड, टिकॅ/टिर्गे, सिसिक, सिन्ज्याली, सवाङ्गी, तिरूकिया, सुरारी, थैन र डाँडाली।
(ख) भुजेल: महिसपरे, निम्मर, सिम्ले/हारूला, बगाले, मदनथोकी, साउथोकी, सुब्जा, मनपऱ्याल, कड्याल, अष्टमु, बुढाथोकी, उमोरा,सम्मेली, धैताने, अर्गेजा, मसाल, थुसिरोङ्ग, ओनकपरे/ओनथापा, शिवभक्ति, झर्रा, कान्छोक्या,पोखऱ्याली, वलिपरे/बलि, थापा, रग्थके, दाउलाडी,गोलोकग्लाम, गोस्कोल्हाम्या, ब्राचुडे, ब्राचुङग्या, खसुड्या, मानपुडे/मानपुड्या, कालीकोट्या/कालीकोटे, याउराङ्गी गोलामे, माँथोक्या, कान्छिङया/कान्टिपऱ्या, परथुङ्गे, लामिछाने ।
(ग) निसेलः कान्छीपरे, घातान, पाखादेरा, बगाले, साउपटी, मसाले,रोक्का, कत्लेबुढा, ओखरबोटे, साउथोकी पुन, उमोरा, राक्सेबुढा, जेठीपरे।
(घ) खवासः खन, खावा, खुवा र खाण
नेपालको राष्ट्रिय समावेशी आयोग श्रीमहल, पुल्चोक, ललितपुरले भुजेल समुदायलाई खस क्षेत्री समुदायमा पटकपटक प्रस्तुत गरेको छ।राष्ट्रिय समावेशी आयोगले गरेको सिफारिसमा नेपालको भुजेल समुदायको छाता संस्था भुजेल समाज सेवा समितिले विज्ञप्ती जारी गरी ज्ञापनपत्र समेत पेश गरी भुजेल आदिवासी जनजाति भएको र क्षेत्री नभएको स्पष्टता पारेको समेत देखिएको छ।आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले वि.सं. २०५८ को सूचिमा भुजेल आदिवसी जनजाति राखिएको र नेपाल आदिवासी जनजाति महासंघमा पनि भुजेल समुदाय आवद्ध छ।
भुजेल समुदायको विस्थापन, बसोबास र सामाजिक आर्थिक रूपान्तरण
भुजी राज्यमा भएको राजनीतिक अस्थिरता र शासकीय दमनका कारण विस्थापित भुजेल समुदायका समूहहरूले क्रमशः पश्चिमतर्फको भू भागलाई आफ्नो नयाँ कर्मथलोका रूपमा अंगाल्न थाले। ऐतिहासिक विवरणअनुसार, ती विस्थापित समूहहरूले विशेषतः हालको तनहुँ जिल्लामा बसोबास स्थापना गरे, जसलाई भुजेल समुदायको प्रमुख वंशवृत्तीय केन्द्रका रूपमा लिइन्छ। त्यसपछि यो समुदाय क्रमशः पश्चिमका तनहुँ, कास्की, स्याङ्जा, लमजुङ र गोर्खा जिल्लामा फैलँदै गयो। त्यस्तै, पूर्वका मोरङ, सुनसरी, संखुवासभा र झापा जिल्लामा समेत उल्लेख्य सङ्ख्यामा भुजेल जनसंख्या बसोबास गर्दै आएको तथ्य पाइन्छ।भुजेल समुदाय भारत, भुटान, ब्रुनाई, मौरिसिससमा समेत रहेको पाइन्छ।
भुजेल र घर्ती समुदायहरूको पारम्परिक पेशा कृषि, पशुपालन, सिकार, तथा बाँसजन्य सामग्री जस्तै डोको, थुन्से, नाङ्लो निर्माणसँग सम्बन्धित रहेको थियो। यी कार्यहरू केवल जीवननिर्वाहका साधन मात्र नभई स्थानीय सांस्कृतिक जीवनशैलीका अभिन्न अंग थिए।

हाल, समयको क्रमसँगै समुदायभित्र चेतनाको स्तर वृद्ध हुँदै गएको छ। शैक्षिक पहुँच र अवसरमा क्रमिक सुधार देखिँदैछ, जसले सामाजिक सशक्तिकरण र आत्म गौरव पुनर्स्थापनाको मार्ग प्रशस्त गरेको छ। भुजेल समुदायले परम्परागत आत्म पहिचानलाई जोगाउँदै आधुनिक, सम्मानजनक र पेशागत अभ्यास अवलम्बन गरिआएको देखिन्छ।
धर्म र संस्कृति
भुजेल समुदायको धार्मिक र सांस्कृतिक जीवनशैली प्रकृतिपूजक दर्शनमा आधारित रहेको पाइएको छ। यस समुदायका प्रमुख इष्टदेवताहरूमा जल, वायु, वन, अग्नि, सूर्य र भूमिलाई प्रमुख रूपमा सम्मानका साथ पुजा गरिन्छ। प्रकृतिप्रतिको आस्था र श्रद्धाले भुजेलहरूको जीवन परिवेशमा धार्मिक र पर्यावरणीय चेतनाको गहिरो अन्तर्सम्बन्ध स्थापित गरेको छ। भुजेल समुदायमा जीवनचक्रका विविध संस्कारहरू जन्म, न्वारान, भातखुवाइ, छेवर, नाककान छेड्ने, विवाह, सम्बन्ध विच्छेद, र दाहसंस्कार सबैका आफ्ना मौलिक रीतिथितिहरू प्रचलित छन्। यी संस्कारहरूले समुदायको सामाजिक संगठन, पारिवारिक मूल्य र सांस्कृतिक निरन्तरताको प्रतीकको रूपमा कार्य गर्दछ। लोकसंस्कृतिको दृष्टिले, भुजेल समुदाय अत्यन्त समृद्ध परम्पराको धनी छ।

उनीहरूको लोकजीवनमा घाँटु नृत्य, नाच, झ्याउरे गीत, र चुड्का भजन जस्ता लोककला र संगीत परम्पराहरू जीवित छन्, जसले सामूहिक सौहार्द आध्यात्मिक भाव र सांस्कृतिक पहिचानलाई मजबुत बनाउँछ। यस्ता लोकअभिव्यक्तिहरूले केवल मनोरञ्जनको माध्यम मात्र नभई भुजेल समाजको ऐतिहासिक स्मृति र सांस्कृतिक एकताको पहिचानलाई वहन गर्ने महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
भुजेल समुदायको चाडपर्व
भुजेल समुदायका चाडपर्वहरू समुदायको धार्मिक विश्वास, प्रकृतिप्रतिको आस्था र सांस्कृतिक निरन्तरतासँग गहिरो रूपमा सम्बन्ध रहेको पाइएको छ।यस समुदायको मुख्य चाड “चण्डी पूर्णिमा” हो, जसलाई सामूहिक रूपमा श्रद्धा, उल्लास र एकताको प्रतीकका रूपमा मनाइन्छ। “भुजेली पर्व” समुदायको दोस्रो प्रमुख सांस्कृतिक उत्सवका रूपमा व्यापक रूपमा मनाइन्छ। जसले सामुदायिक पहिचान र ऐतिहासिक निरन्तरताको अभिव्यक्त गर्दछ।नेपालको पूर्वीक्षेत्रका जिल्लाहरू धनकुटा र सुनसरीका भुजेलहरूले यस परम्परालाई मनाउने गरेका छन्। भुजेल समुदायले साउने सङ्क्रान्ति, माघे सङ्क्रान्ति लगायतका चाडहरू पनि उल्लासपूर्वक मनाउने गरेको पाइन्छ। भुजेलहरूले प्रायः सबै प्रमुख हिन्दू चाड पर्वहरू जस्तै दशैं, तिहार, जनैपूर्णिमा, हरितालिका तीज, र माघे संक्रान्ति सक्रिय रूपमा मनाउदछन्।

फोटो : सन्त कुमार भुजेलको वाल बाट
यी पर्वहरू केवल धार्मिक अनुष्ठानका रूपमा सीमित नरही, सामुदायिक एकता, पारस्परिक सद्भाव र सांस्कृतिक निरन्तरताको माध्यम बनेका छन्। चण्डी पूर्णिमा र भुजेली पर्व विशेष गरी भुजेल समुदायको सामूहिक आत्म पहिचान र प्रकृतिप्रतिको आस्थाको प्रतीक भएको देखिन्छ।जसले सांस्कृतिक धरोहरका रूपमा यस समुदायको जीवनमा गहिरो प्रभाव जमाएका छन्।
भुजेल भाषा र लिपीः
भुजेलहरुको आफ्नै भाषा रहेको छ। “सेवानुङ्ग” अर्थात नमस्कार। तर हाल आएर यो भाषा लोप हुन लागेको छ। नयां पुस्ताले खस नेपाली भाषा बोल्ने भएकोले यसको अस्तित्व संकटमा पर्दै गएको देखिन्छ। ठाउं अनुसार यस जातिको भाषामा पनि केही भिन्नता रहेको छ।तनहुको भुजेलहरुले बोल्ने भाषालाई भुजेल भाषा र भुजी निसी क्षेत्रमा बोलिने भाषालाई खाम भुजेल भाषा भनिन्छ।नेपालमा भुजेल समाजले भाषा र लिपीको संरक्षणको लागि प्रशिक्षण अभियान थालेको पाइन्छ। नेपालको “भुजेल समाज” नामक संस्था भुजेलहरुको छाता संस्था हो। भुजेल समुदायको आफ्नै भाषा, संस्कार, संस्कृति र सामाजिक मूल्य प्रणाली रहेकोले यस समुदायले सधैं आफ्नो पहिचानलाई मौलिक र गौरवशाली रूपमा मानेका छन्। भाषा कुनै पनि जातिको मौलिक चिनारी हो।भुजेल समुदायको पहिचान पनि यसको आफ्नै मातृभाषा “प्हुगाल ङुर” सँग नजिक रूपमा सम्बन्धित छ। भाषिक रूपमा, भुजेल भाषा भोट बर्मेली भाषापरिवारको बोडिक (Bodic) शाखा अन्तर्गतको मध्य हिमाली उपशाखामा पर्ने वैज्ञानिक मतहरू प्रचलनमा रहेको पाइएको छ। भुजेल भाषामा “प्हू” शब्दको अर्थ टाउको वा मुख्य, र “गाल” को अर्थ राजा वा मुखिया भन्ने हुन्छ। यस अर्थमा प्हुगाल ङुर ले “मुख्य मुखियाको भाषा” वा “राजकीय बोली” भन्ने बोध गराउँछ।नेपालमा भाषाविज्ञ डा. दानराज रेग्मी ले सन् २०११ मा भुजेल भाषामाथि विद्यावारिधी “ पि.एच.डी.” तहको अनुसन्धान सम्पन्न गरी यसको वैज्ञानिक अध्ययनलाई शैक्षिक रूपमा सुदृढ पारेका छन्। भुजेल भाषालाई अन्तर्राष्ट्रिय एथनोलोग (Ethnologue) सूचीमा ISO 639-3 कोड [BHY] प्रदान गरिएको छ। युनेस्कोले प्रकाशित गरेको Atlas of the World’s Languages in Danger अनुसार, भुजेल भाषा हाल “अत्यन्तै लोपोन्मुख” (Critically Endangered) भाषाहरूको सूचिमा सूचीकृत छ।भारतको सिक्किम स्टेटले भुजेल भाषालाई राज्य स्तरीय भाषा (State Language) को रूपमा मान्यता दिनुपर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको थियो। हालैका वर्षहरूमा सिक्किम सरकारले भुजेल भाषालाई औपचारिक रूपमा सरकारी कामकाजमा प्रयोग गर्न सकिने भाषाको मान्यता प्रदान गरेको छ जसले संसारभरी छरिएर रहेका भुजेल समुदायको लागि खुसी प्रदान गर्दछ। साथै सिक्किममा भुजेल भाषामा प्राथमिक तहमा अध्यापन समेत हुने गरेको छ। सिक्किममा भुजेल भाषाको लिपीको प्रयोग गरी प्राथमिक तहमा अध्यापन भएको लिपीको नाम खार्पा लिपी हो। भुजेल भाषाको अध्ययन अध्यापन तथा प्रकाशन कार्यका एक मुर्धन्य व्यक्तित्वको रूपमासन्त कुमार भुजेल स्थापित हुनुहुन्छ। सन्त कुमार भुजेल र समकक्षी भुजेल विद्वानहरूले सिक्किममा भुजेल जातीको धार्मिक साँस्कृतिक भाषिक विकासमा निरन्तर योगदान पुर्याइरहेको देखिन्छ र प्राथमिक तहमा शिक्षण समेत भएको देखिएकाले सिक्किम भुजेल समुदायको लागि उर्वर स्थान हो।
भुजेल समुदाय किराती मूलको ऐतिहासिक जनसमूह हो। आफ्नै भाषा, संस्कार, संस्कृति र जीवन दर्शनले यसलाई नेपाल र भारतमा एक विशिष्ट स्थान प्रदान गरेको छ। भुजेल भाषा वर्तमानमा लोपोन्मुख अवस्थामा पुगेको छ।नेपाल र भारत दुबै देशमा यसको संरक्षण, अध्यापन र पुनर्जीवनका लागि प्रशंसनीय प्रयासहरू भइरहेका छन्। विशेषतः, भारतको सिक्किम सरकारले भुजेल भाषालाई राज्यको औपचारिक कार्यभाषा (Official Working Language) का रूपमा मान्यता प्रदान गरेको निर्णय भुजेल समुदायका लागि एक ऐतिहासिक उपलब्धि हो। यसले भाषिक अधिकार, सांस्कृतिक आत्मसम्मान र जातीय अस्तित्वको सुदृढीकरणमा नयाँ युगको सुरुवात गरेको छ। भुजेल जातिको मौलिकता, इतिहास र सांस्कृतिक समृद्धिको संरक्षण केवल एक समुदायको दायित्व नभई समग्र राष्ट्र निर्माणको आधार पनि हो। सिक्किमका भुजेल दाजुभाइहरूबाट नेपाली भुजेलहरूले धेरै राम्रा सामुदायिक पक्षहरुको अनुसरण गर्न आवश्यक छ।वर्तमान, नेपालको संविधानको धारा ६ ले “नेपालमा बोलिनै सबै मातृभाषाहरू राष्ट्र भाषा हुन” भनेको छ।त्यसैले भुजेल भाषाको संरक्षणमा नेपालका भुजेल समुदाय मुख्य सरोकारवाला पक्ष हो। यस भाषाको संरक्षणको लागि संवैधानिक कानूनी तथा संरचनागत प्राज्ञिक आधार पर्याप्त छ। भुजेल समुदाय नै भुजेल भाषाको भूत, वर्तमान र भविष्यका सर्जक हुन।तसर्थ भुजेल भाषालाई निरन्तर जोगाइराख्न भुजेल समुदायका यूवा पूस्ताहरू मुख्य जिम्मेवार हुनु पर्दछ।
भेषभूषा र जातीय पहिचान
भुजेल समुदायको भेषभूषा यसको सांस्कृतिक पहिचानको महत्वपूर्ण प्रतीक हो। यो समुदाय आफ्नै विशिष्ट परम्पराका कारण अन्य जातीय समूहहरूसँग स्पष्ट रूपमा भिन्न देखिन्छ।साँस्कृतिक पर्वहरूमा पुरुषहरूले परम्परागत रूपमा कछाड, भोटो, गादा, आसकोट, दौरा सुरुवाल र टोपी लगाउने गर्छन। जसले श्रम, सरलता र सौम्यता झल्काउँछ। महिलाहरूले गुन्यु, चोली, पटुकी, घलेक, पछ्यौरी, टेकी र टाउकोमा मजेत्रो बाँध्ने प्रचलनमा रहेको पाइन्छ। विशेष अवसरहरूमा मखमलको चोली, हरियो पटुकी, कालो बुट्टे मजेत्रो, घलेक र पोते महिलाहरूको परम्परागत पहिरनका रूपमा धारण गरेको देखिन्छ जसले सौन्दर्य र सांस्कृतिक गौरव दुवै अभिव्यक्त गरेको पुष्टी हुन्छ।आधुनिकता र समयको प्रवाहसँगै परम्परागत पोषाकमा परिवर्तन आएको छ। आजका दिनमा युवा पुस्ताले व्यावहारिकता र सौन्दर्यका कारण आधुनिक पहिरन धारण गर्न थालेका छन्। यस्ता परिवर्तनहरू सांस्कृतिक लचकता र समयानुकूल अनुकूलनको प्रतीक भए तापनि, यसले मौलिक भेषभूषा र जातीय पहिचान क्रमशः ओझेलमा पर्न थालेको चिन्ता पनि उब्जाएको छ।
यस पृष्ठभूमिमा, भुजेल समुदायले आफ्नो मौलिकता, इतिहास र सांस्कृतिक अस्तित्वको संरक्षणका लागि विभिन्न भुजेल सेवा समाज, सांस्कृतिक मंच र संघ संस्थाहरू स्थापना गरेको पाइन्छ। यी संस्थाहरू केवल सांस्कृतिक जगेर्ना मात्र होइन, सामाजिक एकता, आर्थिक सशक्तिकरण र शैक्षिक उन्नतिको अभियानमा पनि सक्रिय छन्।
नेपालभित्र मात्र होइन, विदेशस्थित प्रवासी भुजेल समुदायहरू पनि जातीय उत्थानका लागि संगठित रूपमा क्रियाशील छन्। भारतको सिक्किम, भुटान, कतार, संयुक्त अरब इमिरेट्स (U.A.E), र कुवेतमा स्थापित प्रवासी भुजेल समाजहरूले सांस्कृतिक सम्बद्धता र सामाजिक सहयोगको सशक्त सञ्जाल निर्माण गरेका छन्। भुजेल समुदायका सदस्यहरूले आआफ्नो स्तरबाट संयुक्त रूपमा सांस्कृतिक, शैक्षिक र आर्थिक प्रगतिमा योगदान पुर्याउन सकेमा भुजेल जातिको समग्र उत्थान र पहिचानको निरन्तारता हुन सक्छ।
भुजेल समुदाय किरात मूलको एक प्राचीन पहाडी आदिवासी जनजाति हो।जसलाई कतिपय स्थानमा “प्हुगाल” नामले पनि सम्बोधन गरिन्छ। ऐतिहासिक अभिलेखहरूका अनुसार, भुजेल समुदायको बसोबास क्षेत्र नेपाल, भारत (विशेष गरी सिक्किम, दार्जिलिङ र आसाम), भूटान तथा म्यानमारसम्म फैलिएको पाइन्छ। “सी.जे. मोरिस” ले सन् १९३६ को अध्ययनमा भुजेल समुदायलाई मध्य एशियाका मंगोलियन जातिसँग वंशगत रूपमा सम्बन्धित मानेका छन्। “मोरिसका” अनुसार, भुजेलहरूले प्राचीन कालमा नेपालको मध्य पश्चिम क्षेत्रमा पर्ने भुजी खोलाको दुवै तटमा राज्य स्थापना गरेका थिए। यही भूपरिवेश र बसोबास क्षेत्रको नामबाट नै भुजी, भुजीकोट तथा अन्ततः भुजेल नामको विकास भएको मानिन्छ।
धार्मिक सांस्कृतिक जीवन
भुजेल समुदायको सांस्कृतिक तथा धार्मिक जीवनशैली अत्यन्त समृद्ध, मौलिक र परम्परागत मूल्य मान्यतासँग गहिरो रूपमा स्थापित छ। यस समुदायले धर्म, संस्कार र लोकसंस्कृतिलाई जीवनयापनको अभिन्न अंगका रूपमा अंगालेको पाइन्छ।भुजेलहरूको प्रमुख पर्व मङ्सिरे पूर्णिमा हो, जसलाई सामूहिक एकता, आनन्द र सांस्कृतिक पुनर्मिलनको प्रतीकका रूपमा मनाइन्छ। यसैगरी, राँके, कलाटी, माघे सङ्क्रान्ति, उदौली उभौली लगायतका अन्य पर्वहरू पनि उनीहरूले विशेष श्रद्धा र उत्साहका साथ मनाउने परम्परा कायम राखेका छन्। यी पर्वहरूले प्रकृति, कृषि र मानव सम्बन्धबीचको समन्वयलाई मूर्त रूप प्रदान गरेकोछ।धार्मिक दृष्टिले, भुजेल समुदायलाई प्रकृतिपूजक (Nature Worshipper) समुदायका रूपमा चिनिन्छ। उनीहरू जल, वायु, अग्नि, सूर्य, आकाश र भूमिलाई जीवनदायिनी शक्तिका रूपमा श्रद्धा गर्छन् यो भुजेल समुदायको आध्यात्मिक प्रेरणाको स्रोत हो। प्रत्येक कुलमा पितृपूजा (कुलपूजा) गर्ने परम्परा छ यस कार्यले वंशपरम्परा र आध्यात्मिक निरन्तरताको प्रतीकात्मक अर्थ वहनलाई बोकेको छ।लोकसंस्कृतिको दृष्टिले पनि भुजेल समुदाय अत्यन्त सम्पन्न छ। उनीहरूको मौलिक सांस्कृतिक अभिव्यक्तिहरूमा घाँटु, चुड्का, झमर्या, पादुर्या जस्ता नृत्य गीतहरू प्रमुख छन्। सांस्कृतिक विधाहरूले केवल मनोरञ्जनका रूपमा मात्र नभई कृषि जीवन, ऋतु चक्र, सामुदायिक सहकार्य र आध्यात्मिक एकताको सन्देश वहन गर्ने माध्यमका रूपमा विशिष्ट स्थान ओगटेको पाइन्छ।यसरी हेर्दा, भुजेल समुदायको सांस्कृतिक र धार्मिक जीवन नेपाली बहुसांस्कृतिक समाजभित्र एक जीवित सम्पदाका रूपमा रहँदै आएको छ, जसले स्थानीय परम्परा र राष्ट्रिय पहिचानबीचको सन्तुलनलाई सुदृढ बनाइरहेको छ।
संस्कार र संस्कृति: विश्लेषण
नेपालको सांस्कृतिक विविधताभित्र घर्ती/भुजेल समुदाय एक मौलिक पहिचान बोकेको आदिवासी जनजाति हो। विशिष्ट संस्कार र संस्कृति जीवित राख्न सफल यस समुदायको ऐतिहासिक अस्तित्व र सांस्कृतिक योगदान उल्लेखनीय छ। ऐतिहासिक रूपमा, रुकुमको घर्ताकोट र घर्ताखोला क्षेत्रबाट फैलिएको समुदाय घर्ती नामले चिनियो भने, बागलुङको भुजीखोला र भुजीकोट क्षेत्रका बसोबासकर्ताहरू भुजेल नामले परिचित भए। यसरी घर्ती/भुजेल समुदायलाई मध्यपहाडी भूभाग (ढोरपाटनभुजी क्षेत्र) लाई आफ्नो ऐतिहासिक थातथलो मान्ने, स्वतन्त्र भाषा, संस्कृति, धर्म र रीतिरिवाज भएको आदिवासी जनजातिका रूपमा चिनिन्छ। तनहुँ र नवलपरासीमा आज पनि यस समुदायका भाषा, संस्कार, संस्कृति, कला र गला जीवन्त रूपमा पाइन्छ। संस्थागत तथा व्यक्तिगत स्तरमा खोज, अनुसन्धान र प्रकाशनका माध्यमबाट आफ्नो मौलिकता पुनःस्थापित गर्ने प्रयासहरू निरन्तर भइरहेका छन्।घर्ती/भुजेल समुदाय परम्परागत रूपमा “शमानी धर्म” अर्थात् प्रकृतिपूजक र धामी झाँक्री विश्वास प्रणालीमा आधारित छ।यस समुदायले पितृपूजा र प्रकृतिपूजालाई आफ्नो धार्मिक मूल मान्दछ।नेपालमा हिन्दू समुदायको दशैं र तिहारजस्तै, घर्ती/भुजेलहरूको “भुजेली पर्व” यस समुदायको राष्ट्रिय पर्वका रूपमा स्थापित छ।
यस समुदायले “जल, वायु, सूर्य, अग्नि, जमिन र वनजंगल” जसलाई भुजेल भाषामा (न्याम–सूर्य, हाउसिरिङ–वायू, ती जल, फूई–जङ्गल र राङ्ग–जिमिन) लाई पवित्र शक्ति मानेर पूजाअर्चना गर्दछन्।

भुजेलहरूको प्राचिन परम्पराको रूपमा प्रकृति पूजाको परम्परालाई वि.सं. १३७२ पछि आएर क्रमशः पारिवारिक स्वरूपमा सीमित हुन थालेको पाइन्छ।आज पनि धामी झाँक्रीहरू र बुढापाकाहरू गोठपूजा, कूलपूजा, झाँक्रीपूजा आदि नाममा प्रकृतिको आराधना गर्ने परम्परा निरन्तर छ।यसै परम्पराको निरन्तरता र सामाजिक एकताको प्रतीकका रूपमा, पछिल्ला वर्षहरूमा “भुजेली पर्व” सामूहिक रूपमा मनाउने प्रचलनले पुनःजीवन पाएको छ। यस प्रकारको कार्यले सामुदायिक एकता र सांस्कृतिक गर्वको स्थायित्वमा योगदान गर्दछ।
जनसांख्याको स्थितिः
भुजेल समुदाय नेपालको मध्यपहाडी तथा पश्चिमी हिमाली भूभागमा प्राचीन कालदेखि बसोबास गर्दै आएको आदिवासी जनजाति हो। विभिन्न क्षेत्रमा यस जातिको उपनाम र पहिचान फरक फरक ढंगले रहेको पाइन्छ। पूर्णप्रकाश यात्रीका अनुसार, बागलुङ र रुकुमतिर निसेल/भुजेल, बाजुरामा प्रनाल, बझाङमा धुलेल, हुम्लामा लिमेल, मुगुमा मुर्मी, जुम्लामा पावई र कालीकोटमा सिकारी (सहकारी) का रूपमा चिनिने गरेका छन्।यसले नेपालको बहुसांस्कृतिक भूभागमा भुजेल समुदायको प्रसार र स्थानीय पहिचानको विविधता स्पष्ट पार्दछ।इतिहासमा भुजेल समुदायले गौरवमय स्थान ओगटेको छ।उल्लेखनीय व्यक्तित्वहरूमा सङ्ग्रामसुर भुजेल, रुद्रसिंह भुजेल, त्रिभुवन खवास र गगनसिंह खवास रहेका छन्, जसले नेपालको ऐतिहासिक, सामाजिक र राजनीतिक संरचनामा महत्वपूर्ण योगदान पुर्याएका छन्। नेपालको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ को अनुसूचीमा भुजेल जाति स्पष्ट रूपमा सूचीकृत गरिएको छ।आदिवासी/जनजातिको सामाजिक आर्थिक तथा साँस्कृतिक विकास तथा उत्तथान एवम् राष्ट्रिय विकासको मूल प्रवाहमा समान सहभागिताको लागि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको स्थापना र सञ्चालन गर्न आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ नेपालको संसदले जारी गरेको ऐन हो।उक्त ऐनको अनुसूचिको क्रम संख्या ३४ मा भुजेल समुदाय रहेको छ।
जनसांख्यिक तथ्याङ्कको दृष्टिले, २०५८ सालको राष्ट्रिय जनगणनामा नेपालका ५७ जिल्लामा भुजेल/घर्ती जाति फैलिएको देखिएको थियो, जसमा कुल संख्या १,१७,६४४ रहेका थिए। राष्ट्रिय जनगणना २०६८ अनुसार संख्या १,१८,६५० पुगेको देखिन्छ।राष्ट्रिय जनगणना २०७८ अनुसार भुजेल जातिको जनसंख्या एक लाख २० हजार दुई सय ४५ रहेको छ, जुन कुल जनसंख्याको ०.४१ प्रतिशत हो। भुजेल भाषा बोल्नेको संख्या १३ हजार ८६ जना रहेको छ, जुन नेपालमा बोलिने मातृभाषीको रूपमा रहेका कुल मातृभाषी जनसंख्याको ०.०४ प्रतिशत हो। भुजेल भाषा नेपालमा बोलिने भोट बर्मेली भाषामध्ये एक भाषिक समुदाय हो। तनहुँ, गोरखा, चितवन र नवलपरासीका गाउँहरूमा यो भाषा मातृभाषाको रूपमा बोलिन्छ। नेपाल सरकारले २०५८ को जनगणनाबाट भुजेल भाषालाई छुट्टै भाषाका रूपमा मान्यता दिइएको हो। राष्ट्रिय जनगणना २०५८ मा भुजेल मातृभाषीको जनसङ्ख्या १० हजार सात सय ३३ रहेको थियो भने राष्ट्रिय जनगणना २०६८ मा भुजेल मातृभाषी जनसङ्ख्या २१ हजार सात सय १५ रहेको पाइयो। जसअनुसार राष्ट्रिय जनगणना २०५८ देखि जनगणना २०६८ सम्म भुजेल मातृभाषीको सङ्ख्या १० हजार नौ सय ८२ वृद्धि भएको पाइयो।
नेपालको निजामती सेवामा भुजेलको उपस्थितिः
निश्चित योग्यता,क्षमता,दक्षता एवम् सीपको परीक्षण गरी निर्धारित प्रतिस्पर्धाबाट छानिएर आएका गैह्र सैनिक एब गैह्र राजनितिक कर्मचारीहरूको सेवा संगठन वा पद नै निजामती सेवा हो।निजामती कर्मचारीको छनौट संवैधानिक निकाय लोक सेवा आयोगले गर्दछ।निजामती सेवामा कार्यरत कर्मचारीले राज्यबाट तलब,भत्ता,सेवा सुबिधा एवम् हैसियत र प्रतिष्ठा समेत प्राप्त गर्दछ।निजामती सेवा सरकारको शक्ति,श्रोत र अधिकार जनहित र कल्याण एवम् रास्ट्रको हितका निम्ति प्रयोग र अभ्यास गर्ने वैधानिक र औपचारिक संयन्त्र हो।यो अन्य सम्पुर्ण सेवाको मियो हो,जसले अरु सेवालाई संचालन र व्यवस्थापन गर्न आधार प्रदान गरि मार्गदर्शन गर्छ,साथै सरकारको अभिन्न अंगको रुपमा रहि Core Function संचालन गर्दछ। निजामती सेवा प्रत्येक राष्ट्रको स्थायी सरकार हो। निजामती किताबखाना (निजामती) हरिहरभवन, पुलचोक ललितपुरको अभिलेख अनुसार वि.सं. २०८२ असोज महिनाको अन्तिमसम्मको अभिलेखबाट बहालवाला निजामती कर्मचारिहरूको संख्या संघीय निजामती सेवातर्फ भुजेलको उपस्थिति सहयोगीस्तर (श्रेणिविहिन) तहदेखि नेपाल सरकारको सचिवको (विशिष्ट श्रेणी) पदसम्म भुजेलको उपस्थिति पाइएको छ। निजामती किताबखानाको अभिलेख अनुसार कुल आठ सय ७७ जना संघीय निजामती सेवा अन्तर्गत विभिन्न सेवा समूहमा कार्यरत रही भुजेलहरूले सार्वजनिक सेवा प्रवाह गरिरहेका छन्। यस तथ्याङ्कमा प्रदेश सेवा, स्थानीय सेवा, सामुदायकि सरकारी विद्यालयमा कार्यरत शिक्षक तथा प्राध्यापकहरूको तथ्याङ्क उल्लेख गरिएको छैन।
भुजेल समुदायको राष्ट्रिय सुरक्षामा सहभागिता
नेपालको भुजेल समुदायले राष्ट्रिय शान्ति सुरक्षा प्रवर्द्धनमा निर्वाह गर्दै आएको भूमिकालाई नेपाल प्रहरीको प्रहरी किताबखानाको अभिलेख अनुसार योगदानको पुष्टी गर्दछ। प्रहरी किताबखानामा उपलब्ध मिति २०८२ साल कार्तिक २३ गतेसम्मको तथ्यांक अनुसार “नेपाल प्रहरी” मा कुल ९९७ जना भुजेल समुदायका यूवाहरू जसमध्ये ८४६ जना पुरुष र १५१ जना महिला नेपाल प्रहरी संगठनमा समर्पित रुपमा कार्यरत रहेको देखिन्छ। राष्ट्र र जनताको सेवा, सुरक्षा तथा विश्वसनीयता कायम राख्न यी प्रहरी सङ्गठनका सदस्यहरूले प्रदर्शन गरेको सत्य, निष्ठा, सेवा समर्पण र अविचलित कर्तव्यपरायणताले भुजेल समुदायको गौरवशाली पहिचान तथा देशप्रतिको अटुट प्रतिबद्धताको प्रेरणादायी कार्यको प्रतिनिध्तव गरेको देखिन्छ।त्यसैगरी, नेपालको अर्को महत्वपूर्ण सुरक्षा संरचना “शसस्त्र प्रहरी बल, नेपाल” मा समेत भुजेल समुदायको सहभागिता रहेको तथ्य पाइएको छ। अभिलेख अनुसार उक्त संगठनमा हाल कूल ४७४ जना भुजेल समुदायका युवाहरू सेवामा समर्पित रहेको जसमा ४३५ जना पुरुष र ३९ जना महिला समावेश भएको तथ्य देखिएको छ।राष्ट्रको शान्ति, सुरक्षा र सामाजिक सुव्यवस्थाको संवर्द्धनका लागि यी शसस्त्र प्रहरीले प्रकट गरेको सत्य निष्ठा, अनुशासन, सेवामा समर्पण तथा कर्तव्यपरायणताको कार्यले भुजेल समुदायको राष्ट्रिय गौरव र देशप्रतिको अटुट प्रतिबद्धताले भुजेलयूवाहरूलाई उच्च प्रेरणाको स्रोत प्रदान गर्न सक्तछ। यस तथ्याङ्कमा नेपाली सेना र राष्ट्रिय अनुसन्धानतर्फ “भुजेल” समुदायको उपस्थितिको तथ्याङ्क उल्लेख गरिएको छैन।
भुजेल समुदायका प्राज्ञिक व्यक्तिहरूः
बाबुराम भुजेल (भक्तपुर), चन्द्र बहादुर भुजेल (पोखरा कास्की), अमृतसिंह भुजेल (थैन) (पोखरा कास्की), विष्णु घर्ती “भनभनेली” (गुल्मी), चन्द्रमणि भुजेल र अन्य धेरैजनाले प्राज्ञिक रूपमा भुजेल जातीको विधिध पक्षहरूमा (उत्पती, भाषिक, साँस्कृतिक तथा आर्थिक) क्षेत्रका औपचारिक एकेडेमिक अध्ययन अनुसन्धान कार्यमा योगदान पुर्याउनु भएको छ। त्यसैगरी भुजेल समुदायको नभएर पनि डा. दानराज रेग्मीज्यूले भुजेल जातीको समग्र अध्यनमा त्रिभुवन विश्वविद्यालयबाट औपचारिकता प्रदान गर्नुभएको कार्यले भुजेल समुदायलाई निरन्तर ऋणी बनाउनु भएको छ जसलाई कुनै मुल्यमा तुलना गर्न सकिदैन। संस्थागत रूपमा भुजेल समाज सेवा समिति भुजेलहरूको छाता संस्था र यस संस्था अन्तरगतका भातृसंस्थाहरू पनि सक्रिय रूपमा रहेका छन्।
सिक्किम (सलाङदाङ, सोरेङ जिल्ला, पश्चिम) भारतका सन्त कुमार भुजेलको योगदान र नेपालका भुजेल समुदायले सिक्नु पर्ने कुराः
सलाङदाङ, सोरेङ जिल्ला, पश्चिम सिक्किम भारतका सन्त कुमार भुजेल यूवा पुस्ताका शिक्षित र भुजेल समुदायको मुर्धन्य व्यक्ति हुनुहुन्छ। सन्त कुमार भुजेलले भुजेल समुदायलाई पुर्याउनुभएको योगदानलाई सार संञ्छेपमा भन्दा,- भुजेल समुदायको लोपोन्मुख भाषा, लिपि र संस्कृतिको संरक्षण तथा विकास गर्नु प्रमुख उद्देश्यका साथ निरन्तर लागिरहनु भएकोछ।सन् २००८ देखि भुजेल भाषाको अभिलेखीकरण, लिपि विकास, साहित्यिक लेखन, साथै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धनसँग सम्बन्धित कार्यहरूमा निरन्तर संलग्न हुनुहुन्छ। सन् २००९ मा पहिलोपटक भुजेल समुदायको परम्परागत चुड्का “गाङ्ते आल्ना” गीतको रेकर्डिङ गराई विश्वस मक्ष प्रस्तुत गरिएको थियो। यस कार्यले चुड्का नृत्य र गीतलाई विभिन्न सांस्कृतिक कार्यक्रमहरू मार्फत प्रदर्शन गर्दै भारतभर भुजेल समुदायको मौलिक भाषा र संस्कृतिको अस्तित्व रहेको सशक्त सन्देश दिन सफल हुनु भएको थियो। अखिल सिक्किम भुजेल संघमा महासचिव, सांस्कृतिक सचिव, प्रचार सचिव, साहित्य सचिव तथा सल्लाहकार जस्ता पदहरूमा रही संगठनमार्फत पनि समुदायका विविध पक्षमा सक्रिय योगदान प्रदान गर्दै आउनु भएको छ।

युवापुस्तामा आफ्नै भाषा, लिपि र पहिचान प्रतिको गर्व र जिम्मेवारीबोध जगाउनका लागि विभिन्न सामाजिक, शैक्षिक र सांस्कृतिक अभियानहरूमा सक्रिय रूपमा संलग्न हुनु हुन्छ।YouTube Channel “Santa Bhujel Official” र Facebook Page “Bhujel Culture & Literature” मार्फत भुजेल भाषा, खार्पा लिपि तथा समुदायका विविध सांस्कृतिक पक्षहरूबारे सचेतनामूलक भिडियो तथा सामग्रीहरू निर्माण गर्दै सहजिकरण कार्यमा निरन्तर सक्रिय हुनुहुन्छ। भुजेल समुदायको भाषा, लिपि र संस्कृतिको पुनर्जागरण गर्न उहाँको जीवनको अभिन्न उद्देश्य बनेको छ। विगत केही वर्षदेखि उहाँ आफ्नो मौलिक भाषा “भुजेल” र यसको लेखन प्रणाली “खार्पा” लिपिको अध्ययन, अभिलेखीकरण र प्रचारप्रसारमा समर्पित भएको सिक्किमका भुजेल समुदायको विश्लेषण रहेको छ। भाषा र संस्कृतिको संरक्षणसँगै युवा पुस्तालाई आफ्नो पहिचान, परम्परा र मौलिकता प्रतिको चेतना जगाउन सक्रिय रूपमा कार्यरत सन्त कुमार भुजेलले भुजेल युवा संगठन गठनको पहल गर्दै समुदायमा शैक्षिक, सांस्कृतिक र भाषिक सचेतना फैलाउने कार्यक्रमहरू सञ्चालन गर्दै आउनु भएको छ। सन २०२४ मा प्रकाशित पहिलो द्विभाषिक (भुजेल-नेपाली) कृति “भुजेल भाषा र खार्पा लिपि” ले भुजेल भाषाको व्याकरण, लेखन प्रणाली र खार्पा लिपिको स्वरूपलाई शैक्षिक रूपमा प्रस्तुत गर्दै भाषिक सम्पदाको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। त्यसैगरी, शिक्षा विभाग, सिक्किम सरकारको भाषा शाखा अन्तर्गत प्रकाशित कक्षा–४ भुजेल भाषाको पाठ्यक्रम “पुह्गाल ङुरकोय् खायो र्युन–२०२४” का सम्पादकका रूपमा कार्य गर्दै विभागमा भुजेल भाषाका स्रोत व्यक्ति (Resource Person) को रूपमा पनि भूमिका निर्वाह गर्नु भएको छ। हाल उहाँको दोस्रो प्रकाशोन्मुख कृति “भुजेल साहित्य र संस्कृति” पनि तयार हुँदैछ, जुन पहिलेझैं द्विभाषिक (भुजेल–नेपाली) भाषामा तथा खार्पा र देवनागरी लिपिमा प्रकाशित हुनेछ।सिक्किम विश्वविद्यालयको Centre for Endangered Languages द्वारा निर्मित “Bhujel Heritage Lexicon” नामक Android मोबाइल Dictionary App मा भुजेल शब्दहरूको ध्वनि (Phonetic) अभिलेखीकरणमा सन्त कुमार भुजेलले सहकार्य गर्नु भएको छ। त्यसैगरी, The People’s Linguistic Survey of India ले सिक्किम राज्यमा भुजेल भाषाको अध्ययन तथा अनुसन्धान गर्ने क्रममा लेखहरू प्रकाशिन गर्नुभएको छ।सिक्किम एकेडेमी तथा अन्य धेरै साहित्यिक पत्रपत्रिकाहरूमा पनि भुजेल भाषासम्बन्धी लेखहरू निरन्तर प्रकाशन गर्नु भएको छ।निकट भविष्यमा भुजेल खार्पा लिपिलाई Unicode मा समावेश गराउन निरन्तर प्रयासरत देखिनुभएको छ। सन्त कुमार भुजेल भन्नु हुन्छ “खार्पा लिपि छिट्टै Unicode मा आधिकारिक रूपमा समावेश हुनेछ।”
सिक्किम भारतका सन्त कुमार भुजेलले आफ्नो समुदायमा पुर्याउनु भएको अतुलनीय योगदान जस्तै नेपाली भुजेल समुदायका यूवाहरूले ऐतिहासिक, भाषिक, सामाजिक, साँस्कृतिक र आर्थिक समग्र पक्षमा अध्ययन र अनुसन्धान गर्दै समुदायको अस्तित्वलाई जीवित राख्न ज्ञान, समय र सीपको उपयोग गर्न आवश्यक छ।
निष्कर्षमा,-
नेपालको भुजेल समुदायको ऐतिहासिक स्वरूप, सांस्कृतिक धरोहर, सामुदायिक संगठन तथा सामाजिक आर्थिक योगदानले यो समुदायलाई नेपालको सभ्यता विकासको एक विशिष्ट पहिचानयुक्त राष्ट्रको निर्माण गर्नमा योगदान स्थापित गरेको पुष्टी भएको देखिन्छ। तर परम्परा, भाषा उपभाषा, लोककला, इतिहास र सामुदायिक सोचका कारण क्रमशः क्षीण हुँदै गएको वर्तमान परिवेशमा भुजेल पहिचान संरक्षण अब केवल सांस्कृतिक दायित्व मात्र नभई रणनीतिक सामाजिक आवश्यकता बनेको छ। यही सन्दर्भमा भुजेलका नयाँ पुस्ताको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। भुजेल युवा तथा प्राज्ञिक शिक्षित वर्गले आफ्ना मौलिक परम्परा, मौखिक इतिहास, वंशावली, संस्कार संस्कृति प्रणाली, भेषभूषा तथा सामूहिक स्मृतिलाई व्यवस्थित अभिलेखीकरण गरी डिजिटल संरक्षण, सामुदायिक पठनपाठन, अनुसन्धान, सांस्कृतिक कुटनीति र अन्तरसामुदायिक संवादमार्फत दीर्घकालीन रूपान्तरण गर्नुपर्ने टड्कारो अवसस्था देखिन्छ।
भुजेल समुदायको जातीय, भाषिक र सांस्कृतिक पहिचानको प्रभावकारी संरक्षण तथा प्रवर्द्धनका लागि विषय विशेष केन्द्रित प्रदर्शनी, खाद्य संस्कृति आधारित विशेष परिकार पहिचान गरी प्रदर्शनी कार्यक्रम राख्न सकिन्छ। भुजेल पारम्परिक पोशाकको उत्पादन, बिक्री वितरण र सहज उपलब्धताका लागि लक्षित कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक देखिन्छ।सघन रूपमा बसोबास भएका भुजेल बस्तीहरू रहेका स्थानगत क्षेत्रमा सम्बन्धित स्थानीय तहहरूले भुजेलहरूको राष्ट्रिय पर्वलाई औपचारिक मान्यता प्रदान गरी संस्थागत ढङ्गले पर्वको आयोजना गर्न सकिन्छ।विभिन्न भौगोलिक स्थानमा बसोबास गर्ने भुजेल समुदायबीच अन्तरसमुदाय भ्रमण, सांस्कृतिक भावना आदानप्रदान तथा पारस्परिक सम्बन्ध विस्तारका कार्यक्रमहरू सञ्चालन गर्दा दीर्घकालीन एकता सुदृढीकरण र सांस्कृतिक निरन्तरताका दृष्टिले अत्यन्त प्रभावकारी हुने देखिन्छ।
भुजेल समुदायका व्यावसायिक तथा प्राज्ञिक व्यक्तिहरूले आफ्नो परम्परागत सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन र विश्वव्यापी पहिचान स्थापित गर्ने उद्देश्यले समुदायका मौलिक परिकार तथा परम्परागत डीसहरूको व्यवस्थित पहिचान, तिनको पेटेन्ट, डिजाइन तथा ट्रेडमार्क दर्ता गर्ने कार्यलाई संस्थागत रूप दिन आवश्यक छ। यस्ता परिकारहरूको विस्तृत सूची, मानकीकृत मेन्यू र तथ्यहरूको दस्तावेज तयार पारेर तिनको स्रोत, इतिहास, तयारी विधि तथा सांस्कृतिक महत्त्वलाई समग्र रूपमा अभिलेखीकरण गरी प्रकाशन गर्नु आजको आवश्यकता हो।यससँगै भुजेल समुदायलाई सांस्कृतिक रूपमा प्रतिनिधित्व गर्ने कृषि उपकरणहरू, हातहतियारहरू, बाँस, काठ तथा माटोबाट बनेका परम्परागत घरायसी सामग्रीहरू, भाँडाकुँडाका स्वरूपहरू तथा दैनिक जीवनशैलीसँग सम्बन्धित वस्तुहरूको व्यवस्थित संकलन र तिनको वैज्ञानिक ढङ्गले सूचीकरण एवं दस्तावेजीकरण गरिनु अत्यन्तै महत्वपूर्ण छ।यदि यी सम्पदाहरूलाई समेटेर भुजेल परिकार र सांस्कृतिक पहिचान प्रस्तुत गर्ने उद्देश्यले एकीकृत रूपमा सञ्चालन हुने “ओपन म्यूजियम” शैलीको “रेष्टुरेन्ट” स्थापना गरियो भने, यो स्थान भुजेल समुदायका नयाँ पुस्ता, गैह्र भुजेल समुदायका अवलोकनकर्ताहरू तथा अध्ययन अनुसन्धानमा संलग्न विशेषज्ञहरूका लागि एक अनिवार्य सांस्कृतिक गन्तव्य बन्न सक्छ। यस्तो केन्द्रले परम्परागत स्वाद, पोषण, जीवनशैली, सामाजिक संरचना तथा सांस्कृतिक मूल्यबोधको प्रत्यक्ष अनुभूति गराउने गन्तव्य मात्र होइन, समुदायको ऐतिहासिक निरन्तरता सुनिश्चित गर्ने ज्ञानको संरक्षकका रूपमा समेत कार्य गर्नेछ।
व्यवसायिक दृष्टिकोण भएका तर स्रोतसाधनको पर्याप्त अवस्थामा नरहेका भुजेल समुदायका इच्छुक तथा सरोकारवाला व्यक्तिहरूलाई उद्यमशीलतामार्फत सक्षम बनाउने उद्देश्यले, भुजेल समुदायको उत्थान, संरक्षण तथा संवर्द्धनका लागि कार्यरत संघसंस्था एवं साझेदार निकायहरूले प्राप्त गरेको विभिन्न आर्थिक स्रोत तथा सहयोगको माध्यमबाट आवश्यक सामाग्रिहरूको उपल्बध वा बजेट अनुदान “सिडमनी” प्रदान गर्नसकेको खण्डमा “ओपन म्यूजियम” शैलीको “रेष्टुरेन्ट” स्थापना गरी सञ्चालनमा ल्याउन सम्भव हुन्छ।यस माध्यमबाट परम्परागत भुजेल सीप, ज्ञान, कच्चा पदार्थ तथा सांस्कृतिक सामग्रीहरूको प्रवर्द्धन, प्रदर्शन, व्यवसायीकरण तथा दीर्घकालीन संरक्षणलाई संस्थागत ढंगले सहज, दिगो र परिणाममुखी बनाउन सकिन्छ।यसरी व्यवस्थित संरक्षण, व्यावसायिक विचार र सांस्कृतिक कूटनीतिक दृष्टिकोणको संयोजनमार्फत भुजेल समुदायको मौलिक इतिहास, परम्परा र स्वादले राष्ट्रिय सांस्कृतिक विविधतामा यसको योगदान थप प्रभावकारी रूपमा स्थापित हुनेछ।
त्यसैगरी स्थानीय सरकार, प्रादेशिक निकाय र संघीय संयन्त्रले पहिचान संरक्षणलाई सांस्कृतिक अधिकार अन्तर्गत राज्यको दायित्वका रूपमा अंगिकार गर्दै भुजेल इतिहास लेखन, अध्ययन केन्द्र, सांस्कृतिक संग्रहालय, भाषा दस्तावेजीकरण कार्यक्रम, विद्यावारिधि अनुसन्धान अनुदान तथा स्थानीय पाठ्यक्रममा भुजेल समुदायको परम्परागत ज्ञान सीप र संस्कृति समावेश गर्ने नीतिगत पहलमार्फत सामुदायिक सहजिकरण गरी एकताको सुत्रमा आवद्ध राष्ट्र निर्माणमा राज्य, समुदाय र प्राज्ञिक क्षेत्रबीचको त्रिपक्षीय सहकार्यले भुजेल पहिचान मात्र नभई जातीय भाषिक समाजिक साँस्कृतिक एकता कायम गरी समृद्द राष्ट्र निर्माण गर्नमा योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ।
– माथी प्रयोग भएका फोटोहरु भुजेल ग्यालरी बाट राखिएको जानकारी अनुरोध छ ।
सन्दर्भ सामाग्रिहरूः
- Regmi, D. (2025). Exploring relationship of Bhujel with the Kirati languages. NepJOL.
- Regmi, D. R. (2007). The Bhujel language: A descriptive thesis [Ph.D. dissertation, Tribhuvan University]. TUCL eLibrary.
- Matrika, S. (n.d.). A sociolinguistic survey of Bhujel. GIWMSCNTWO.
- Indigenous Voice. (n.d.). Exclusion of Bhujels.
- MyRepublica. (n.d.). Fear of being homeless worries Bhujel community.
- Endangered Alphabets. (n.d.). Bhujel. Atlas of Endangered Alphabets.
- Digital Bible Society. (n.d.). Bhujel.
- Wikipedia. (n.d.). Bhujel.
- Centre for Endangered Languages. (n.d.). Bhujel.
- Bhujel, G. (2016). भुजेल भाषा र नेपाली भाषा व्याकरणको तुलनात्मक अध्ययन [Comparative study of Bhujel and Nepali grammar]. TUCL eLibrary.
- Thapa, K. (2025, July 18). भुजेल‑मगर तुलनात्मक भाषिक अनुभव. Nagarik News.
- Bhujel, G. (2011). भुजेल भाषा र नेपाली भाषाको व्याकरणको तुलनात्मक अध्ययन. शोत्र पत्र, त्रिभुवन विश्वविद्यालय।
- Thapa, K. (2011). मगर भाषा र भुजेल भाषाको तुलनात्मक अध्ययन [Research paper, Prithvi Narayan Campus, Tribhuvan University].
- Regmi, N. (2013). भुजेल जातिको सामाजिक सांस्कृतिक अवस्था (स्याङ्जा जिल्ला फापरथुम गा.वि.स. का भुजेल जातिको समाजशास्त्रीय अध्ययन). समाजशास्त्र संकाय।
- सुवेदी, राजाराम, २०५५, गुल्मीको ऐतिहासिक झलक, किरण पुस्तकालय, तम्घास, गुल्मी।
- भुजेल, बाबुराम र तामाङ्, “योञ्जन”, अमृत, २०५८, भुजेल जाति र भाषा, भुजेल समाज, काठ।
- भुजेल, चन्द्रबहादुर, २०६१, भुजेल जाति बारे केही कुरा, आलेख ।
- भुजेल जागरण, वर्ष १, अंक १, २०६२, भुजेल जाति अध्ययन मञ्च, काटमाडौं ।
- भुजेल, अमृतसिंह, २०६२, भुजेल जाति र जीवन पद्धति देवघाट तनहँ, भुजेल समाज, के.स.।
- घर्ती, विष्णु भनभनेली, २०६७, घर्ती/भुजेलहरु (गुल्मीमा प्रथम खोज), भुजेल समाज, गुल्मी।
- Gharti, V. (2022, December 9). ‘भनभनेली संस्कार संस्कृतिमा घर्ती/भुजेल समुदाय. Shittalpati.
- Kharachunge Bhujel, C. B., & Umara Bhujel, Bishnulal. (Eds.). (n.d.). Puhgal Chhyahangkrum: Bhujel bhāsāko śabdakoś. Nepal Pragya Pratishthan.
- Bhujel, Vishnulal. (n.d.). Bhujel Book for Class III: Bhujel bhāsāko saral pāṭh. Akhil Sikkim Bhujel Sangh; Human Resource Development Department, Government of Sikkim.
- Hitchcock, J. T. (n.d.). Aspects of Bhujel shamanism. (p. 165).
लेखकः सार्वजिनिक प्रशासन, दिगो विकास र कानून तर्जुमा क्षेत्रका विश्लेषक हुन।

