माईबेनी मेला आउदै गरेका तीर्थयात्री सवार पिकअप र बस ठोक्किँदा आमा–छोरीको मृत्यु, ११ घाइते

2 Min Read

माघ १, झापा – झापाको पवित्र कनकाई माईबेनी मेला भर्न आउदै गरेको पिकअप जीप र यात्रुवाहक बस एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
झापा कनकाई नगरपालिका–३, नयाँबस्तीमा बिहीबार बिहान साढे ९ बजेको समयमा बिर्तामोडबाट माईबेनी मेला आउदै गरेको मे १ च ४५१५ नम्बरको पिकअप र विपरीत दिशाबाट जाँदै गरेको ना ५ ख २१४९ नम्बरको यात्रुवाहक बस ठोक्किएका हुन्।
दुर्घटनामा पिकअपमा सवार भद्रपुर नगरपालिका–८ की ४० वर्षीया सुस्मा राजवंशी र उनकी डेढ वर्षीया छोरी आरुती राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो।


दुर्घटनामा परी मृतकका श्रीमान् ४० वर्षीय आफुद राजवंशी गम्भीर घाइते भएका छन्। उहाँको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। यसैगरी मृतककै १५ वर्षीय छोरा आशिष राजवंशी पनि घाइते भएका छन्।
अन्य घाइतेहरूमा मेचीनगर नगरपालिका–१५ की ६५ वर्षीया फूलमनी मुर्मु, ४२ वर्षीया जमुना राजवंशी, ११ वर्षीय अनिस राजवंशी, भद्रपुर नगरपालिका–४ की ४० वर्षीया पुष्पलाल राजवंशी, भद्रपुर नगरपालिका–९ की ४० वर्षीया टेमुना राजवंशी, शिवसताक्षी नगरपालिका–१० की २९ वर्षीया अन्जली राई, बिर्तामोड नगरपालिका–३ का २४ वर्षीय अभिषेक राजवंशी, मेचीनगर नगरपालिका–१५ की १५ वर्षीया कृतिका राजवंशी र भद्रपुर नगरपालिका–४ की ४५ वर्षीया पाथल राजवंशी रहेका छन्।
घाइतेहरूको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल र बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेका सबैजना पूर्वको पवित्र माईबेनी मेला भर्न हिडेका तीर्थयात्रीहरू रहेको बताइएको छ।

Share This Article
Leave a Comment