मौसम अनुकूल नभए हिमाली जिल्लामा दोश्रो चरणमा निर्वाचन हुन्छ: प्रधानमन्त्री कार्की

1 Min Read

२० माघ- प्रधानमन्त्री सुशीला कार्कीले मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन गराउन सकिने बताउनुभएको छ।
नवलपरासीको कावासोती नगरपालिका–१ हात्तिखोरमा आयोजित राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी भएर फर्कने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले हिमाली जिल्लामा मौसम अनुकूल नभए दोस्रो चरणमा निर्वाचन गर्ने विकल्प खुला रहेको जानकारी दिनुभयो।

उहाँले कम मतदाता भएका स्थानमा सवारीसाधन प्रयोग गरेर मतदाता ओसारेरै भए पनि निर्वाचन सम्पन्न गराइने उल्लेख गर्नुभयो। तर, अत्यन्तै प्रतिकूल अवस्था सिर्जना भएमा मात्र दोस्रो चरणमा निर्वाचन गर्ने विषयमा सोच्न सकिने उहाँको भनाइ थियो।
अहिलेसम्म कुनै पनि कारणले निर्वाचन सार्ने विषय औपचारिक रूपमा नआएको स्पष्ट पार्दै प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनमा ढुक्क भएर सहभागी हुन सबैलाई आग्रह गर्नुभयो।
समयमै निर्वाचन सम्पन्न भई नवनिर्वाचित प्रतिनिधिले राज्य व्यवस्था सम्हाल्दै देशलाई नयाँ दिशातर्फ अघि बढाउनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो। निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुने विश्वास समेत प्रधानमन्त्री कार्कीले व्यक्त गर्नुभयो।
विशेष परिस्थितिमा हुन लागेको निर्वाचन भएकाले केही चुनौती आए पनि समाधान गर्दै निर्वाचन सम्पन्न गराइने उहाँको भनाइ छ।

Share This Article
Leave a Comment