सातौँ झापा गोल्डकपको खेल तालिका सार्वजनिक

1 Min Read

 माघ २०,झापा–  झापामा आयोजना हुने सातौँ संस्करणको झापा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ। आयोजक समितिले हिजो सामाजिक सञ्जालमार्फत् तालिका सार्वजनिक गर्दै प्रतियोगिता माघ २४ गतेदेखि सुरु हुने जनाएको हो।
सार्वजनिक तालिका अनुसार उद्घाटन खेलमा आयोजक टोली झापा–११ फुटबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताका सबै खेल बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुनेछन्।
प्रतियोगिताको फाइनल खेल फागुन ४ गते आयोजना गरिने आयोजक समितिका अध्यक्ष केदार गिरीले जानकारी दिनुभयो।
पुरस्कारतर्फ विजेताले नगद १५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले नगद ७ लाख ५० हजार रुपैयाँ पाउने कोषाध्यक्ष चन्द्रमणि कट्टेलले बताउनुभयो।
त्यस्तै, प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ घोषित खेलाडीले नगद २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ। उत्कृष्ट गोलकिपर, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्ता खेलाडीलाई जनही नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

Share This Article
Leave a Comment