फागुन १७ —इरानले अमेरिकी–इजरायली संयुक्त आक्रमणमा आफ्ना सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएको पुष्टि गरेको छ। इरानको सरकारी टेलिभिजनले खामेनीको मृत्यु पुष्टि गरेको भन्दै ४० दिन राष्ट्रिय शोक घोषणा गरिएको जनाएको छ। आक्रमणमा खामेनीका परिवारका केही सदस्य पनि मारिएको इरानी सञ्चारमाध्यमहरूले दाबी गरेका छन्।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले ‘ट्रुथ सोसियल’ मार्फत खामेनी मारिएको दाबी गर्दै इरानमाथि बमबारी जारी रहने चेतावनी दिएका थिए। उनले यसलाई “न्याय” भएको उल्लेख गर्दै इरानी सेनाभित्र युद्धप्रति असन्तुष्टि रहेको दाबी गरेका छन्।
आक्रमणको जवाफमा इरानले मध्यपूर्वका विभिन्न क्षेत्रमा अमेरिकी सैन्य अड्डा रहेका स्थानहरूमा प्रत्याक्रमण गरेको बीबीसीले जनाएको छ। आक्रमणमा इरानमा दुई सयभन्दा बढीको मृत्यु भएको रेड क्रिसेन्टले जनाएको छ भने एक विद्यालयमा भएको हवाई आक्रमणमा कम्तीमा ८५ जनाको ज्यान गएको इरानी स्रोतहरूले बताएका छन्।
तनाव चुलिँदै जाँदा इजरायलले सार्वजनिक भेला रोक्न र विद्यालय बन्द गर्न निर्देशन दिएको छ। क्षेत्रीय देशहरूले हवाई क्षेत्र बन्द गरेका छन् भने अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउँदै वार्ताबाट समाधान खोज्न आह्वान गरेका छन्।

