दमकका टोल–टोलमा अध्यक्ष ओलीको भेटघाट, स्थानीय समस्या सुन्दै समाधानको प्रतिबद्धता

2 Min Read

फागुन १७ — केपी शर्मा ओली आज दिनभरि दमकका विभिन्न टोलमा पुगेर स्थानीय बासिन्दासँग भेटघाटमा व्यस्त रहनुहुने भएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) झापा क्षेत्र नम्बर ५ निर्वाचन प्रचार उपसमितिका संयोजक इन्द्र भण्डारीका अनुसार बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म दमकका विभिन्न स्थानमा अध्यक्ष ओलीको भेटघाट कार्यक्रम तय गरिएको छ।
कार्यक्रमअनुसार बिहान ११ बजे दमक–५ स्थित क्याम्पस मोडबाट भेटघाट सुरु हुनेछ। त्यसपछि सोही वडाको ज्येष्ठ नागरिक भवनमा स्थानीयसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।

त्यसपश्चात् १२ बजे वडा नं. ७ को कालिका टोल र बुद्धमाया टोलमा पुगेर मतदातासँग छलफल गरिनेछ। स्थानीयका समस्या सुन्ने, समाधानका उपाय खोज्ने तथा आवश्यक योजना निर्माणबारे गम्भीर छलफल गरिने जनाइएको छ।
मध्यान्ह १ बजे वडा नं. १ स्थित हिन्दु वैदिक सेवा समाजको सभाहलमा भेटघाट कार्यक्रम राखिएको छ भने अपराह्न २ बजे दमक–१० (पुरानो दमक–१८) को नलवारी क्षेत्रमा पुग्ने कार्यक्रम तय गरिएको छ।
यसैगरी अपराह्न ४ बजेदेखि वडा नं. ३ को गोलाटार चौक, ओमशान्ति टोल र कुमाल टोलमा पुगेर आजको अन्तिम भेटघाट कार्यक्रम सम्पन्न गरिनेछ।

अध्यक्ष ओलीले यसपटक आफैं टोल–टोलमा पुगेर मतदाताका समस्या बुझ्ने र समाधानका उपायबारे छलफल गर्ने उद्देश्य राख्नुभएको बताइएको छ। उहाँका अनुसार प्रत्यक्ष रूपमा जनताको गुनासो सुन्दा क्षेत्रगत समस्या स्पष्ट हुने भएकाले आगामी योजना तर्जुमा गर्न सहज हुने विश्वास लिइएको छ।
भेटघाटका क्रममा विभिन्न टोलमा फरक–फरक समस्या देखिएका छन्। कतै सडक स्तरोन्नति आवश्यक रहेको छ भने कतै खानेपानी अभाव, सुकुम्बासी व्यवस्थापन, टेलिफोन टावरको समस्या तथा विद्युत् विस्तार जस्ता विषय उठेका छन्। अधिकांश समस्या स्थानीयस्तरमै छिट्टै समाधान गर्न सकिने प्रकृतिका रहेको जनाइएको छ।

Share This Article
Leave a Comment