फागुन १७ – प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन अत्यावश्यक सेवामा संलग्न विभिन्न सवारीसाधनलाई कुनै प्रकारको पास आवश्यक नपर्ने निर्वाचन आयोगले स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।
आयोगले सवारीसाधन सञ्चालनलाई प्रभावकारी, व्यवस्थित तथा अत्यावश्यक सेवामैत्री बनाउन सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२ अनुसार केही सवारीसाधनलाई पास नचाहिने व्यवस्था मिलाइएको जनाएको छ । आयोगले नेपाल सरकारलाई सम्बन्धित प्रयोजनका लागि मात्र प्रयोग हुने र असम्बन्धित यात्रु नबोक्ने सवारीसाधनलाई पास आवश्यक नपर्ने प्रबन्ध मिलाउन सिफारिस गरेको हो ।
यी सवारीलाई पास आवश्यक नपर्ने
आयोगका अनुसार निम्न सवारीसाधन निर्वाध रूपमा सञ्चालन गर्न सकिनेछ–
दमकल, एम्बुलेन्स र शववाहन
खानेपानी, दूध, फलफूल, तरकारी, माछा, मासु तथा पेट्रोलियम पदार्थ बोकेका सवारी
दूरसञ्चार, खानेपानी, विद्युत् र ढल मर्मतका सवारी
अस्पताल सेवामा प्रयोग हुने सवारी (चिकित्सक तथा स्वास्थ्यकर्मीको आवतजावतका लागि)
अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु बोकेका सवारी (विमानस्थल–घर/होटल आवतजावत)
त्यस्तै, हिँडडुल गर्न नसक्ने गर्भवती, सुत्केरी, शिशु बोकेकी महिला, किरियापुत्री, शारीरिक रूपमा अशक्त वा अपाङ्गता भएका व्यक्ति, अशक्त ज्येष्ठ नागरिक मतदाता तथा उनीहरूका एक जना सहयोगी बोकेका सवारीसाधनलाई पनि पास आवश्यक नपर्ने आयोगले जनाएको छ ।
कूटनीतिक र अनुगमन सवारी पनि सञ्चालनमा सहज
नम्बर प्लेटमा ‘सिडी’ उल्लेख भएका कूटनीतिक नियोगका सवारी, आयोगबाट जारी परिचयपत्र भएका पर्यवेक्षकले प्रयोग गर्ने सवारी (परिचयपत्रमा उल्लेखित क्षेत्रभित्र मात्र), राष्ट्रिय मानवअधिकार आयोगका अनुगमन सवारी तथा प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधन पनि सहज रूपमा सञ्चालन गर्न सकिनेछ ।
निर्वाचनका दिन अत्यावश्यक सेवा अवरुद्ध नहुने गरी व्यवस्थापन मिलाइएको आयोगको भनाइ छ ।
फागुन २१ को निर्वाचन : अत्यावश्यक सेवाका सवारीलाई पास नचाहिने
Leave a Comment
Leave a Comment

