७ फागुन- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
पार्टीको केन्द्रीय निर्वाचन परिचालन कमिटीले आयोजना गरेको ‘देश पहिला’ शीर्षक बहस कार्यक्रममा घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष केपी शर्मा ओली ले लक्ष्य निर्धारणसहितका प्रतिबद्धता प्रस्तुत गर्नुभयो।
एमालेले ‘समृद्ध नेपाल, सुखी नेपालीः राष्ट्रिय आकाङ्क्षा हाम्रो गन्तव्य’ नारालाई मूल आधार बनाउँदै सो लक्ष्य हासिल गर्न पार्टीलाई विजयी गराउनुपर्नेमा जोड दिएको छ। विगतमा आफ्नै नेतृत्वको सरकार हुँदा सुरु गरिएका तर पूरा हुन नसकेका सुशासन, विकास, रोजगारी सिर्जना र सामाजिक न्यायका कार्यक्रमलाई यसपटक प्रमुख प्राथमिकतामा राखिएको घोषणापत्रमा उल्लेख छ।
घोषणापत्रमा तत्काल कार्यान्वयन गर्ने ११ काम, पाँच आधारभूत कार्यदिशा र २५ वटा सङ्कल्प सार्वजनिक गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भत्काउने र जलाउने होइन, बनाउने सङ्कल्पका साथ एमाले अघि बढेको बताउनुभयो। विगतका अनुभव, अभ्यास र उपलब्धिका आधारमा मुलुकको समग्र मुहार फेर्ने अभियानमा एमालेले अगुवाइ गर्ने दाबी उहाँले गर्नुभयो।
उहाँले स्वाधीनता र राष्ट्रियताको पक्षमा एमाले सधैँ दृढ रहेको स्पष्ट पार्दै पार्टी कुनै लोकप्रितावाद वा स्टन्टको राजनीतिमा केन्द्रित नहुने उल्लेख गर्नुभयो।
एमालेको घोषणापत्रमा समेटिएका महत्त्वपूर्ण बुदाहरु
१ – सबै युवाहरूलाई सञ्चारमा सहजताका लागि हरेक महिना १० जीबी इन्टरनेट डाटा निःशुल्क उपलब्ध गराइने।
२ – विद्यार्थीहरूका लागि २० लाख रुपैयाँसम्मको निर्ब्याजी ऋण र पारिश्रमिकसहितको इन्टर्नशीपको व्यवस्था गरिने।
३ – युवा तथा नयाँ उद्यमीहरूलाई अन्तर्राष्ट्रिय कारोबारका लागि १० हजार डलर बराबरको बैंक कार्ड उपलब्ध गराइने।
४ – महिला उद्यमीहरूलाई २० लाख रुपैयाँसम्मको सहुलियतपूर्ण ऋण र प्रत्येक सुत्केरीलाई २० हजार रुपैयाँ भत्ता दिइने।
५ – गर्भवती महिलाहरूको निःशुल्क बीमा गरिने र किशोरीहरूलाई निःशुल्क स्यानिटरी प्याड वितरण गरिने।
६ – महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई मासिक २० हजार रुपैयाँ भत्ता र सामाजिक सुरक्षाको प्रत्याभूति गरिने।
७ – श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक २५ हजार रुपैयाँ पुर्याइने र अनिवार्य सामाजिक सुरक्षामा आबद्ध गरिने।
८ – वैदेशिक रोजगारीमा जाने श्रमिकको खातामा सरकारले ५ हजार रुपैयाँ जम्मा गरिदिने।
९ – सबै शिक्षकहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने र उनीहरूको मर्यादाक्रम स्पष्ट रूपमा तोकिने।
१० – बहालवाला तथा अवकाशप्राप्त सुरक्षाकर्मीहरूको सेवा सुविधामा वृद्धि गरिने।
११ – विद्यालयमा कक्षा १० सम्मका विद्यार्थीलाई निःशुल्क दिवा खाजाको व्यवस्था गरिने।
१२ – अति विपन्न तथा गरिब परिवारको २५ हजार रुपैयाँसम्मको ऋण मिनाहा गरिने।

