कमल, माघ २४ – नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो निर्वाचन क्षेत्रका मतदातासँगको भेटघाटमा व्यस्त हुनुभएको छ। शुक्रबार झापा आउनुभएका क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका प्रत्यासी समेत रहनुभएका ओली शनिबार बिहानैबाट मतदाता भेटघाटमा ब्यस्त हुनुभएको हो।
शनिबार र आइतबार दुई दिन कमल गाउँपालिकामा भेटघाटको तालिका बनाइएअनुसार चुनावी अभियानमा सक्रिय ओलीले आज कमल गाउँपालिकाका १७ स्थानका चोक तथा बजारमा मतदातासँग भेटघाट गर्नुभएको छ।
बिहान ११ बजे कमल–५ को त्रिलोकेश्वर मन्दिरमा लागिरहेको पुराणबाट भेटघाट सुरु गर्नुभएका ओलीले अमलडाँगी, किराँत चौक, समयगढ,बाँसबारी, सोलमारी, सरङपाडा, ढ्याङ्ग्री, क्याम्प, केर्खा लगायतका चोक–बजारमा मात्र होइन, यस क्षेत्रमा पुराण लागिरहेका घरघरमै पुगेर हार्दिकता प्रकट गर्नुभएको छ।
पूर्व प्रधानमन्त्री ओलीले आज कमलका वडा नम्बर १, २, ३, ४ तथा ५ का मतदातासँग गर्नुभएको भेटघाटमा उत्साहजनक रूपमा उल्लेख्य मतदाताको उपस्थिति देखिएको छ। कमल गाउँपालिकामा गत स्थानीय निर्वाचनमा विभिन्न दलले गठबन्धन गर्दा पनि उपाध्यक्षसहित ७ मध्ये ४ वटा वडा जितेको यस पालिकामा कम्तीमा पनि ६० प्रतिशत मत अध्यक्ष ओलीले प्राप्त गर्ने एमालेले अनुमान गरेको छ।
भोलि कमल–५ पाडाजुंगीस्थित नरेन्द्र कार्कीको घरमा कार्यकर्ता भेटघाट सुरु गर्नुहुने ओलीले बसन्त चौक, खयरबारी, लालधोन्द्रा, गेउरिया जीवनचोक, लखनपुर, सोनापुर लगायतका २२ स्थानमा भेटघाट कार्यक्रम गर्ने एमाले झापा सदस्य प्रेम पोखरेलले जानकारी दिनुभयो।




