अध्यक्ष ओलीको निर्वाचन कमाण्डर देवेन्द्र दाहाल, सह–कमाण्डरमा दीपक र मेनुका

3 Min Read

माघ ९,झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको कमाण्डर (संयोजक) मा देवेन्द्र दाहाल तथा सह–कमाण्डर (सहसंयोजक) मा दीपक कार्की र मेनुका काफ्ले तोकिएका छन्।
झापाको गौरादहमा नेकपा (एमाले) प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नं. ५ ले आयोजना गरेको ७औँ पूर्ण तथा विस्तारित बैठक तथा निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रममा ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको एमाले केन्द्रीय सदस्य दीपक कार्कीले जानकारी दिनुभयो।

कार्कीका अनुसार परिचालन कमिटीअन्तर्गत ९ वटा उपसमिति गठन गरिएको छ। कमिटीमा निर्वाचन क्षेत्रमा घर भएका केन्द्रीय कमिटी सदस्य, केन्द्रीय आयोग, केन्द्रीय विभागका वर्तमान तथा निवर्तमान सदस्यलाई जिम्मेवारी दिइएको छ। यसैगरी प्रदेश कमिटी सदस्य, प्रदेश लेखा कमिटी, विभिन्न विभाग, सल्लाहकार, जिल्ला कमिटीका पदाधिकारी, विभागीय सदस्य, सल्लाहकार परिषद्का सदस्यहरू पनि परिचालन कमिटीमा समेटिएका छन्।

स्थानीय तथा प्रदेशका निर्वाचित जनप्रतिनिधि, जनसंगठनका केन्द्रीय, प्रदेश तथा पालिका कमिटीका पदाधिकारी एवं सदस्यहरू पनि परिचालन कमिटीमा रहनेछन्। क्षेत्रीय तथा प्रदेश समन्वय कमिटीहरू पनि निर्वाचन परिचालनमा केन्द्रीत हुने जनाइएको छ।
परिचालन कमिटीका संयोजक देवेन्द्र दाहाल पार्टीका पूर्व पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री हुनुहुन्छ। उहाँ यसअघिको निर्वाचनमा पनि अध्यक्ष ओलीको चुनावी कमाण्डर रहनु भएको थियो। सहसंयोजक दीपक कार्की एमाले केन्द्रीय सदस्य हुनुहुन्छ। उहाँ संविधानसभाका दुवै निर्वाचनमा तत्कालीन झापा क्षेत्र नं. ६ बाट निर्वाचित हुनु भएको थियो। कार्की २०५४–२०५९ सालमा गौरादह गाविसको अध्यक्षसमेत रहनु भएको थियो। अर्की सहसंयोजक मेनुका काफ्ले एमाले केन्द्रीय सदस्य तथा अनेम संघकी केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ। उहाँ कमल गाउँपालिकाकी निवर्तमान अध्यक्ष पनि हुनुहुन्छ।

पार्टीका क्षेत्रीय संयोजक तथा परिचालन कमिटीका सचिव नारायण गौतमले विगतमा सफल निर्वाचन रणनीति बनाउँदै कार्यान्वयन गरेका अनुभवी नेताहरूलाई कमाण्डर र सह–कमाण्डरको जिम्मेवारी दिइएको बताउनुभयो। उहाँले अध्यक्ष ओलीलाई जिताउन मतदाता केन्द्रित कार्यक्रमसहित घरदैलो अभियान सञ्चालन गरिने जानकारी दिनुभयो।
निर्वाचन परिचालनका लागि ६९ सदस्यीय सचिवालयसमेत गठन गरिएको छ। वडा तथा टोलस्तरका प्रचार समितिहरू माघ १२ गतेभित्र गठन गरिसक्ने निर्णय गरिएको गौतमले जानकारी दिनुभयो।

परिचालन कमिटीअन्तर्गत गठन गरिएका ९ उपसमितिमध्ये कार्यालय सञ्चालन उपसमितिको संयोजक नारायण गौतम, प्रचार सामग्री व्यवस्थापन उपसमितिको संयोजक होमबहादुर थापा, प्रचार–प्रसार उपसमितिको संयोजक दीपक कार्की, आर्थिक व्यवस्थापन उपसमितिको संयोजक रोमनाथ ओली, स्वयंसेवक परिचालन उपसमितिको संयोजक गोविन्द थापा तथा प्रशासन समन्वय उपसमितिको संयोजक देवेन्द्र दाहाल रहनु भएको छ।
यसैगरी सञ्चार तथा क्षेत्र बाहिर रहेका मतदाता समन्वय उपसमितिको संयोजक इन्द्रप्रसाद भण्डारी र कानुनी परामर्श उपसमितिको संयोजक नारायण भट्टराई रहनु भएको छ।

Share This Article
Leave a Comment