काँग्रेसको १५औँ महाधिवेशन: वडा अधिवेशन सुरु

2 Min Read

३ असाेज-  नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आजदेखि सुरु भएको छ । पार्टी केन्द्रीय निर्वाचन समितिले आज र भोली स्थानीय वडा अधिवेशन गर्न सकिने कार्यतालिका निकालेसँगै आजदेखि औपचारिक रूपमा वडा अधिवेशन सुरु भएको हो ।

गत पुस मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण गरेका सबै क्रियाशील सदस्यले वडाको अधिवेशनमा भाग लिन पाउने काँग्रेस निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिए । पार्टीको अधिवेशनमा वडा क्षेत्रभित्रका क्रियाशील सदस्य वडा अधिवेशनका सदस्य हुनेछन् । उक्त अधिवेशनले वडा सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव, एक सहसचिव र सदस्य निर्वाचित गर्नेछ ।

काँग्रेसको विधानअनुसार गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाअन्तर्गतका वडाबाट निर्वाचित हुने वडा सभापतिले निर्वाचित वडा कार्यसमितिबाट कोषाध्यक्ष मनोनीत गर्न पाउँछन् । गाउँपालिका वडा अधिवेशनबाट कम्तीमा दुई महिला, एक दलित र ३० वर्षमुनिका एक युवासहित सात जना वडा सदस्यमा निर्वाचित हुनेछन् ।

काँग्रेस विधानमा नगर-उपमहानगरपालिका वडा अधिवेशनले भने दुई महिला, एक दलित र ३० वर्षमुनिका दुई युवासहित आठ जनालाई वडा सदस्यमा निर्वाचित गर्नुपर्ने हुन्छ । यस्तै, महानगरपालिकाको वडा अधिवेशनबाट कम्तीमा तीन महिला, एक दलित र ३० वर्षमुनिका तीन युवासहित ११ जना वडा सदस्यमा प्रत्यक्ष निर्वाचित हुने निर्वाचन समितिका संयोजक खड्काले जानकारी दिए।

वडा सभापतिले कार्यसमितिमा एकतिहाइ सदस्य अनिवार्य महिला हुनुपर्ने व्यवस्था तथा समावेशी सिद्धान्तअनुरूप सबै समुदायको प्रतिनिधित्व, अल्पसंख्यकको प्रतिनिधित्व, अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व, युवा प्रतिनिधित्व समेतलाई ध्यानमा राखी क्रियाशील सदस्यमध्येबाट वडा सदस्य मनोनीत गर्नुपर्ने वैधानिक प्रावधान रहेको संयोजक खड्काले बताए ।

उनका अनुसार काँग्रेसको विधानअनुसार प्रत्येक महिनामा कम्तीमा एक पटक वडा कार्यसमितिको बैठक बस्नुपर्ने व्यवस्था छ । क्षेत्रीय अधिवेशनका प्रतिनिधिलाई वडा कार्यसमितिको बैठकमा आवश्यकताअनुसार आमन्त्रण गर्न सकिने विधानमा उल्लेख छ ।

गाउँ/नगर/उपमहानगर/महानगर वडा अधिवेशनबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिहरू पनि चयन हुनेछन् । क्षेत्रीय अधिवेशनका लागि सबै वडा अधिवेशनबाट समान संख्यामा प्रतिनिधिहरू चयन गर्ने व्यवस्था गरिएको छ ।

Share This Article
Leave a Comment