३ असाेज- जापानमा आयोजना भइरहेको २०औँ एसियन गेम्सको औपचारिक उद्घाटन आज हुँदै छ । स्थानीय समयअनुसार साँझ ६ बजे नागोया सिटीस्थित मिजुहो पार्क एथलेटिक्स स्टेडियममा उद्घाटन समारोह आयोजना हुनेछ ।
जापानले तेस्रोपटक एसियाली खेलकुद आयोजना गर्दैछ । यसअघि सन् १९५८ मा र १९९४ मा एसियन गेम्स आयोजना गरेको थियो । ३२ वर्षपछि जापानमा फर्किएको एसियन गेम्समा ४३ खेलका ७१ विधामा ४६९ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा करिब १७ हजार खेलाडी तथा अफिसियल सहभागी हुँदैछन् ।२०औं एसियन गेम्समा नेपालबाट २१ खेलका १३५ खेलाडी सहभागी भएका छन् । जसमा ५७ महिला र ७८ पुरुष खेलाडी छन् । यस्तै २९ प्रशिक्षक, १७ व्यवस्थापक, २ खेल प्राविधिक पनि सहभागी हुनेछन् ।
नेपालबाट आर्चरीका २, एथलेटिक्सका ६, ब्याडमिन्टनका ४, बक्सिङका ७, क्रिकेटका १५, साइक्लिङका २, गल्फका ४, जुडोका ६, कबड्डीका २४, करातेका ८, र्याफ्टिङ एन्ड क्यानोइङका २, स्केट एन्ड स्केट बोर्डिङका २, सफ्ट टेनिसका ४, स्क्वासका २, पौडीका ५, टेबलटेनिसका ६, तेक्वान्दोका ३, टेनिसका ५, भलिबलका १२, कुस्तीका ६, उसुका १० खेलाडीले एसियन गेम्समा प्रतिस्पर्धा गर्नेछन् । नेपाल महिला भलिबलमा भने पदक दौडबाट बाहिरिसकेको छ ।तस्बिर सौजन्य : राजेन्द्र चित्रकार

