कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा एमालेकी रोशनी मेचे र सोमनाथ पोर्तेल निर्वाचित, कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध

1 Min Read

११ माघ,झापा — कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा (एमाले) की रोशनी मेचे र सोमनाथ पोर्तेल निर्वाचित हुनुभएको छ भने नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको छ।
आज सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस–नेकपा (एमाले) गठबन्धनका तर्फबाट महिलातर्फ एमालेकी रोशनी मेचेले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की नमिता न्यौपानेलाई पराजित गर्नुभयो। मेचेले ७ हजार १७३ मतभार प्राप्त गर्दा न्यौपानेले २ हजार २६८ मतभार ल्याउनुभयो।

यसैगरी दलिततर्फ नेकपा (एमाले) का सोमनाथ पोर्तेल निर्वाचित हुनुभएको छ। उहाँले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का खेम सुन्दासलाई पराजित गर्नुभयो। पोर्तेलले ७ हजार ४२३ मतभार प्राप्त गर्नुभयो भने सुन्दासले २ हजार २७ मतभार ल्याउनुभयो।
कोशी प्रदेशमा राष्ट्रिय सभाका तीन सदस्य पदका लागि निर्वाचन भएको थियो। खुला सदस्यतर्फ भने यसअघि नै नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसक्नुभएको थियो।

राष्ट्रिय सभा सदस्य निर्वाचनका क्रममा कोशी प्रदेशका १३७ स्थानीय तहमध्ये नेपाली कांग्रेसका ११३, नेकपा (एमाले) का १०८, नेपाली कम्युनिष्ट पार्टीका ३६, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका चार–चार तथा दुई जना स्वतन्त्र प्रतिनिधि मतदाता रहेका थिए।

प्रदेशसभामा नेपाली कांग्रेसका २९, नेकपा (एमाले) का ४०, नेपाली कम्युनिष्ट पार्टीका १७, राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच र जनता समाजवादी पार्टीका एक जना सांसद मतदाता थिए।

Share This Article
Leave a Comment