छठ पर्वको दोस्रो दिन आज खरना विधि गरिँदै

1 Min Read

कात्तिक ९ गते । आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत आज दोस्रो दिन खरना विधि गरिँदैछ । जीवनपद्धतिलाई प्रतिविम्बन गर्ने छठको खरनालाई पापको क्षय हुने दिन भनिन्छ ।

खरनाअन्तर्गत गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी बर्तालु दिनभर उपवास बस्ने गर्छन् । बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटाको नयाँ चुल्हामा र माटाकै नयाँ भाँडामा सखर, दूध र गम्हरी चामल (मङ्सिरमा पाक्ने स्थानीय जातको धानको चामल)को खीर पकाइन्छ । राति त्यहि खिर कूल देवता र छठी देवीलाई चढाइ ब्रतालुले  खाने गर्छन् ।

श्रद्धा, निष्ठा, समर्पणभाव र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठ पर्वको ‘खरना’ पछि ब्रतालुहरू अझ गम्भीर भई पर्वको तेस्रो दिनको तयारीमा लाग्ने गर्छन् ।

पर्वको तेस्रो दिन भोलि अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेर साँझपख ब्रतालुले जलाशयमा बनेको मनोरम घाटमा पुगेर कम्मरसम्म डुब्ने पानीमा चोबलिएर अस्ताउँदा सूर्यलाई पहिलो अर्घ्य दिइने छ ।

धार्मिक तथा ऐतिहासिक पोखरी तलाउ, नदीमा छठ घाट बनाउने काम अन्तिम चरणमा पुगेको छ । अहिले छठका लागि पोखरीहरुलाई सजाएर झकिझकाउ बनाउने कार्य जारी छ ।

Share This Article
Leave a Comment