कात्तिक ८ । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका ७ झारमारे नजिकै बुराउसेनीमा शुक्रबार बेलुका जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार सात जनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परेर चालकसहित १० जना घाइते भएका छन् । घाइते मध्य जुना बुढालाई थप उपचारका लागि नेपालगञ्ज लिइएको छ भने अन्यको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।
शुक्रबार बेलुका जिल्ला सदरमुकाम मुसीकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको जिप आठबिसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाको सिमाना पर्ने झारमारे लेकमा दुर्घटना भएको थियो ।
जिप सडकबाट सात सय मिटर तल खसेको प्रहरीको भनाइ छ । क्षमताभन्दा बढि यात्रु रहेकाले जिप दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

