छिटपुट घटनाबाहेक प्रतिनिधिसभा निर्वाचनको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न

2 Min Read

फागुन २१- छिटपुट सामान्य घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर मतदान शान्तिपूर्ण र उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ।
निर्वाचन आयोगले तोकेको समयअनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन गरिएको थियो। आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरका अनुसार मतदानको समय साँझ ५ बजेसम्म भए पनि त्यस समयसम्म मतदान केन्द्रमा लाइनमा रहेका मतदातालाई मतदान गर्न दिइने व्यवस्था गरिएको छ।
निर्वाचन आयोगका अनुसार अहिलेसम्म कुनै पनि मतदान केन्द्रमा मतदान औपचारिक रूपमा स्थगन गरिएको घोषणा भएको छैन। दोलखा, सर्लाही र रौतहटका केही मतदान केन्द्रमा सामान्य विवाद भए पनि तत्काल समाधान गरी मतदान सुचारु गरिएको आयोगले जनाएको छ। दोलखाको तामाकोशी–४ स्थित मालु मतदानस्थलमा केहीबेर स्थगन भएको मतदान पुनः सञ्चालन भई जारी रहेको छ।
मतदानको विस्तृत विवरणबारे आयोगले आज साँझ ६ः१५ बजे पत्रकार सम्मेलनमार्फत जानकारी गराउने जनाएको छ।
यस निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) अन्तर्गत ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गरेका छन्। प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी मैदानमा छन्।
समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन्। प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भएको हो।
निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन्। साथै एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम गरिएको छ।
मतदानका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको थियो। यसबाहेक १४३ अस्थायी मतदानस्थल पनि तय गरिएको थियो। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा गर्भवती महिलालाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको थियो।
निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धानका कर्मचारी र एक लाख ४९ हजार ९० म्यादी प्रहरी परिचालन गरिएको थियो।

Share This Article
Leave a Comment