माघ ६, झापा । उम्मेदवारी दर्ताका लागि झापा आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन जी आन्दोलनका नाममा जलाइएका सरकारी तथा व्यक्तिगत संरचनाको निरीक्षण गर्दै आफ्नो चुनावी अभियान सुरु गर्नुहुने भएको छ ।
पार्टी क्षेत्रीय समन्वय कमिटी झापा क्षेत्र नम्बर ५ का संयोजक नारायणप्रसाद गौतमका अनुसार भदौ २४ गते विध्वंसकारी समूहले तोडफोड तथा आगजनी गरेका यस क्षेत्रका सम्पूर्ण संरचनाको अध्यक्ष ओलीले निरीक्षण गर्ने र पीडितहरूसँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ । निरीक्षण कार्यक्रम आज दमकस्थित इलाका प्रहरी कार्यालयको भवनबाट सुरु गरिने गौतमले जानकारी दिनुभयो ।
एमाले दमक नगर कमिटी अध्यक्ष राम पौडेलका अनुसार बिहान १० बजेदेखि १२ बजेसम्म अध्यक्ष ओलीले क्षतिग्रस्त संरचनाको निरीक्षण गर्ने तथा पीडितलाई भेट्ने कार्यक्रम रहेको छ । आज इलाका प्रहरी कार्यालय दमक, दमक नगरपालिका, दमकका मेयर राम थापाको निवास, नेपाली काँग्रेसको पार्टी कार्यालय, पूर्वमेयर रोमनाथ ओलीको निवास, अध्यक्ष ओलीको आफ्नै निवास, नेपाली काँग्रेस दमक नगर कार्यलय, एमाले दमक कार्यालय तथा एमालेका युवा नेता बुद्धि थापाको निवासलगायत संरचनाको निरीक्षण गर्ने योजना बनाइएको छ ।
आजै दिउँसो १ बजे अध्यक्ष ओलीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ बाट उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । त्यसपछि अन्य राजनीतिक बैठकहरू भएकाले जेन जी आन्दोलनका क्रममा जलाइएका बाँकी संरचनाको निरीक्षण अर्को दिन गर्ने कार्यक्रम बनाइने पौडेलले जानकारी दिनुभयो ।
गौतमका अनुसार यस क्षेत्रअन्तर्गतका अन्य पालिका कमल गाउँपालिका, गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा जलाइएका संरचनाको पनि समय व्यवस्थापन गरेर अध्यक्ष ओलीले निरीक्षण गर्नुहुने कार्यक्रम रहेको छ ।
जेन जी आन्दोलनमा क्षतिग्रस्त संरचना निरीक्षण गर्दै ओलीले झापा–५ बाट चुनावी अभियान सुरु गर्ने
Leave a Comment
Leave a Comment

