१४ जेठ ०८३, गौरादह । गौरादह नगरपालिकाको सहयोग तथा एफएम प्लस ८९.१ मेगाहर्ज, गौरादह झापाको आयोजनामा “जैविक खेतीका लागि नगर–कृषक साझेदारी : विद्यमान अवस्था र आवश्यकता” विषयक रेडियो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
एफएमको साक्षात्कार कक्षमा सम्पन्न कार्यक्रममा गौरादह नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष एवं नगर आर्थिक विकास समिति संयोजक बलराम खरेल,नगर कृषि शाखा प्रमुख शिव न्यौपाने,नमुना सहकारी खेतीका अध्यक्ष वेदनिधि चापागाईं, सगरमाथा कृषक समूहका अध्यक्ष कमल खतिवडा,आइपिएम कृषक समूहका उपाध्यक्ष कृष्णबहादुर कार्की, सचिव देउकुमार उप्रेती, कृषक नगेन्द्र डाँगी, अगुवा कृषक नारायणप्रसाद गौतम, कृषि इन्जिनियर सुमन अधिकारी, कृषक टेकबहादुर डाँगी तथा मौरीपालक कृषक बमबहादुर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर ७ का वडाध्यक्ष एवं आर्थिक विकास समिति संयोजक बलराम खरेलले माटो संरक्षणका लागि जैविक तथा अर्गानिक खेती प्रणाली अपनाउनुपर्ने बताउनुभयो । नगरपालिकाले जैविक खेतीका लागि कृषकलाई प्रोत्साहन गरिरहेको उल्लेख गर्दै उहाँले जैविक मल प्रयोगका कारण माटोमा सुधार देखिन थालेपछि किसान उत्साहित भएको जानकारी दिनुभयो ।
नेपालमा पछिल्लो समय रासायनिक मल तथा विषादीको अत्यधिक प्रयोगका कारण माटोको उर्वराशक्ति घट्दै गएको तथा मानव स्वास्थ्यमा नकारात्मक असर देखिन थालेको उल्लेख गर्दै उहाँले यिनै कारण गौरादह नगरपालिकाले जैविक खेतीलाई अभियानकै रूपमा अघि बढाइरहेको बताउनुभयो ।
नमुना सहकारी खेती गौरादह–५ का अध्यक्ष वेदनिधि चापागाईंले गौरादह नगरपालिकालाई कृषिलाई प्राथमिकता दिने अग्रणी पालिकाको रूपमा व्याख्या गर्नुभयो । नार्क, नास्ट तथा कृषि क्याम्पससँग सहकार्य गरेर आधुनिक कृषि प्रविधिमा किसानलाई जोड्ने प्रयास भइरहेको उहाँको भनाइ थियो । नगरले सहयोग गरिरहे पनि जैविक खेतीका लागि कृषक स्वयं सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा सगरमाथा कृषक समूहका अध्यक्ष कमल खतिवडा, आइपिएम कृषक समूहका उपाध्यक्ष कृष्णबहादुर कार्की, मौरीपालक कृषक बमबहादुर श्रेष्ठ तथा जैविक खेती कृषक नगेन्द्र डाँगीले नगरका राम्रा कामको सराहना गर्दै कृषकका समस्याहरू उठान गर्नुभएको थियो ।
गौरादह नगरपालिका कृषि शाखा प्रमुख शिव न्यौपानेले जैविक खेतीका लागि नगरपालिकाले गरिरहेका कार्यहरूको जानकारी गराउनुभएको कार्यक्रम करिब दुई घण्टासम्म सञ्चालन भएको थियो ।
कार्यक्रमको सञ्चालन एफएम प्लस ८९.१ मेगाहर्जका प्रबन्ध निर्देशक युवराज भट्टराईले गर्नुभएको थियो भने व्यवस्थापन स्टेसन संयोजक मञ्जु डाँगी तथा प्राविधिक संयोजन रमिसा कुँवरले गर्नुभएको थियो ।

