जेठ १४- मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिद र इदगाहहरूमा धार्मिक विधिपूर्वक मनाइँदै छ। इदुल फित्र (रमजान) पछि ७९औँ दिनमा मनाइने यस पर्वका अवसरमा मुस्लिम समुदायले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज अदा गर्ने परम्परा रहेको छ। नमाजपछि एकआपसमा शुभकामना आदानप्रदान गरिन्छ। यस अवसरमा काठमाडौंको जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद तथा इदगाहहरूमा श्रद्धालुहरूको भीड लागेको छ। इस्लामिक परम्पराअनुसार हिजरी संवत् १४३९ वर्ष पहिले अल्लाहको आदेशमा पैगम्बर इब्राहिमले आफ्ना छोरा इस्माएललाई बलिदान गर्न तयार भएको घटनाको स्मरणमा यो पर्व मनाइन्छ। बकर इद पर्सिसम्म मनाइनेछ।
सरकारले आज सार्वजनिक बिदा दिएको छ भने गणतन्त्र दिवस, शनिबार र आइतबार परेकाले आजदेखि लगातार चार दिन सार्वजनिक बिदा भएको छ।

