११ माघ—नेपाली करातेकी स्टार खेलाडी एरिका गुरुङले अन्तर्राष्ट्रिय करातेमा फेरि एकपटक इतिहास रचेकी छन्। टर्कीमा भइरहेको डब्लुकेएफ कराते वान प्रिमियर लिग–२०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै एरिका उपाधिनजिक पुगेकी हुन्।
महिला ६८ किलोमाथि तौल समूहअन्तर्गत भएको सेमिफाइनलमा एरिकाले इंग्ल्याण्डकी राचेले वाल्टर्सलाई ४–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाइन्। अब एरिकाले स्वर्ण पदकका लागि कजाखस्तानकी सोफिया बेरुत्सेभासँग प्रतिस्पर्धा गर्नेछिन्। फाइनल खेल नेपाली समयअनुसार आज राति ८ बजेपछि हुनेछ।
फाइनल जित्न सफल भए एरिकाले नेपाली करातेको इतिहासमा अर्को सुनौलो अध्याय थप्नेछिन्। यसअघि एरिकाले गएको वर्ष मोरक्कोको रावातमा भएको कराते वान प्रिमियर लिगमा पहिलो सहभागितामै कांस्य पदक जित्दै ऐतिहासिक उपलब्धि हासिल गरेकी थिइन्।
६८ किलोमाथि तौल समूहमा एरिकाको निरन्तर उत्कृष्ट प्रदर्शनलाई विश्व कराते महासंघ (डब्लुकेएफ) ले पनि प्रशंसा गरेको छ। फाइनलमा प्रतिद्वन्द्वी सोफिया बेरुत्सेभा एरिकाका लागि परिचित प्रतिस्पर्धी रहेकाले यी दुई खेलाडीबीचको खेल कडा र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
नेपाली खेलकुदप्रेमीको नजर अब एरिकाको स्वर्ण यात्रातर्फ केन्द्रित भएको छ।
टर्कीमा एरिका गुरुङको ऐतिहासिक उडान, कराते वान प्रिमियर लिग–२०२६ को फाइनलमा प्रवेश
Leave a Comment
Leave a Comment

