२८ पुष – महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रममार्फत दिँदै आएको उपचार सेवा बन्द गर्ने निर्णय गरेको छ। स्वास्थ्य बिमा बोर्डबाट उपचार खर्चको भुक्तानी नआएकाले सेवा निरन्तर सञ्चालन गर्न नसकिएको अस्पतालले जनाएको छ।
विसं २०७७ देखि सञ्चालनमा रहेको स्वास्थ्य बिमा कार्यक्रममा हालसम्म करिब ४० करोड रुपैयाँ भुक्तानी बाँकी रहेको र मासिक दुई करोड रुपैयाँ नोक्सान हुने अवस्था आएपछि सेवा बन्द गर्नुपरेको सूचना अधिकारी कालीप्रसाद रोस्याराले जानकारी दिनुभयो।
यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले नसर्ने रोगको रोकथामलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ। नसर्ने रोगको उपचारमा ठूलो खर्च भइरहेको उल्लेख गर्दै उहाँले स्वस्थ जीवनशैली र रोकथाम कार्यक्रम सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो।

