चैत १३— देशले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ ।
त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको औपचारिक जानकारी गराइनेछ । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल बहुमतको सरकार गठन हुन लागेको हो । शाहले आज दिउँसो १२ बजेर ३४ मिनेटको साइतमा शपथ लिने तयारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब २:१५ बजे पदभार ग्रहण गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ । प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट निर्वाचित ३६ वर्षीय शाहले झण्डै दुईतिहाइ बहुमतसहित सरकारको नेतृत्व गर्न लाग्नुभएको हो । रास्वपाले हिजो मात्रै उहाँलाई संसदीय दलको नेता चयन गरेको थियो ।
प्रधानमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथ गराउने तयारी गरिएको छ । रास्वपाले प्रधानमन्त्रीसहित १६ सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी गरेको छ भने मन्त्रीहरूको नामबारे अन्तिम छलफल जारी रहेको बताइएको छ । मन्त्री बन्ने चर्चामा स्वर्णिम वाग्ले, शिशिर खनाल, सोबिता गौतम, इन्दिरा राना, सुनील लम्साल, सस्मित पोखरेल र सुधन गुरुङ लगायतका नाम रहेका छन् ।
देशले आज नयाँ प्रधानमन्त्री पाउँदै
Leave a Comment
Leave a Comment

