२९,चैत- राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । देशभर गणक तथा सुपरिवेक्षक परिचालन भइसकेका छन् ।
आउँदो वैशाख २ गतेदेखि सुरु हुने गणनाको स्थलगत तथ्याङ्क सङ्कलन असारको पहिलो साताभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसका लागि करिब पाँच हजार जनशक्ति परिचालित छन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योग, व्यवसाय र सरोकारवालालाई सक्रिय सहभागिताका लागि आग्रह गर्दै आर्थिक क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण तथ्याङ्क सङ्कलनमा सहयोग गर्न अनुरोध गर्नुभएको छ ।
गणनामा उद्योग, व्यवसाय, सेवा, सहकारी लगायत १८ क्षेत्रका विवरण संकलन गरिनेछ । यसअन्तर्गत प्रतिष्ठानको संख्या, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी जानकारी समेटिनेछ । यसअघि २०७५ सालमा गरिएको गणनामा देशभर ९ लाख २३ हजारभन्दा बढी प्रतिष्ठान सञ्चालनमा रहेको तथ्याङ्क सार्वजनिक भएको थियो ।

