नेपाल जग्गा तथा आवास विकास महासंघको चौथो महासभा सम्पन्न

3 Min Read

वैशाख १२– घरजग्गा क्षेत्रलाई उद्योगको मान्यता दिन जोड दिँदै नेपाल जग्गा तथा आवास विकास महासंघको चौथो महासभा सम्पन्न भएको छ।
देशव्यापी रूपमा रहेका १४३ एसोसिएट तथा २० जिल्ला समिति तथा तदर्थ समितिको प्रतिनिधित्व रहेको महासभा चितवन घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो।
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ३ मा अवस्थित दियालो फुडल्याण्डमा सम्पन्न महासभामा सहभागीहरूले नेपालको जग्गा तथा आवास क्षेत्र आर्थिक क्षेत्रको मेरुदण्डको रूपमा रहेको भन्दै घरजग्गा व्यवसायलाई व्यवस्थित बनाउन सरकारसँग माग गरेका छन्।
महासंघको चौथो महासभाको उद्घाटन कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले व्यवस्थित बस्ती विकास र व्यवस्थित शहरीकरणको आवश्यकता औंल्याउँदै यो क्षेत्रलाई उद्योगका रूपमा परिभाषित गराउने लक्ष्यलाई प्राथमिकतामा राखी अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
महासभामा प्रस्तुत नीति, दृष्टिकोण र सुझावप्रति समर्थन जनाउँदै वक्ताहरूले जग्गा तथा आवास क्षेत्रको संस्थागत विकास, नीतिगत सुधार, दिगो शहरीकरण र आर्थिक सुदृढीकरणका लागि महासंघको पहल सकारात्मक र समयसापेक्ष रहेको बताएका छन्।
महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिकाका कार्यवाहक मेयर चित्रसेन अधिकारीले व्यवस्थित बस्ती विकासका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। व्यवस्थित शहरीकरणका लागि नागरिक र व्यवसायी दुवैले जिम्मेवारी महसुस गर्नुपर्ने उहाँको भनाइ थियो।

महासभामा समग्र क्षेत्रको वर्तमान अवस्था, चुनौती, सम्भावना तथा भावी कार्यदिशाबारे विस्तृत धारणा प्रस्तुत गर्दै महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरे (ध्रुव) ले नेपालको घरजग्गा तथा आवास व्यवस्थित, मर्यादित र देशको समृद्धिसँग प्रत्यक्ष जोड्ने उद्देश्यसहित महासंघको स्थापना भएको बताउनुभयो।
कार्यक्रमलाई नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा, संस्थापक अध्यक्ष मीनमान श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरी, महासंघका निवर्तमान अध्यक्ष भेषराज लोहनी, वरिष्ठ उपाध्यक्ष विदुर धमला, उपाध्यक्षहरू ई. दीपक कुँवर, राजकुमार राई, पुरुषोत्तम पौडेल लगायतले सम्बोधन गर्नुभएको थियो।


महासभामा संघका संस्थापक अध्यक्ष मीनमान श्रेष्ठ, राप्ती नगरपालिकाका नगरप्रमुख शमशेर लामा, खैरहनी नगरपालिकाका नगरप्रमुख शशीकुमार खनियाँ, रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रल्हाद सापकोटा, माडी नगरपालिकाका नगरप्रमुख तारा कुमारी काजी महतो तथा इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारती, प्रहरी वरिष्ठ उपरीक्षकद्वय तारादेवी थापा र गोविन्द पुरी, प्रहरी उपरीक्षक धनबहादुर बोहरा, सार्वजनिक प्रशासन, दिगो विकास तथा कानुन तर्जुमा क्षेत्रका विश्लेषक गोकुल भुजेल,मालपोत अधिकृत निरबहादुर दाहाल, नापी अधिकृत श्रीधर ढुङ्गाना, व्यावसायिक तथा नागरिक समाजका प्रतिनिधिहरूमध्ये उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदी, लेखापढी व्यवसायी संघका अध्यक्ष राजु रानाभाट, नेपाल एसोसिएसन अफ रियल्टर्स एण्ड एजेन्सीका अध्यक्ष गोपाल बरुवाल तथा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्त पराजुलीलगायत विभिन्न संघ–संस्थाका प्रमुखहरूको सहभागिता रहेको थियो।

महासभामा महासंघले वरिष्ठ कानूनी सल्लाहकार डा. गोकुल प्रसाद बुर्लाकोटीलाई संस्थामा पुर्‍याएको योगदानको कदरस्वरूप विशेष प्रशंसा पत्र प्रदान गरेको छ।

Share This Article
Leave a Comment