जेठ २४, झापा । गौरादह नगरपालिकाकी उप-प्रमुख जलवर्षा राजवंशी चौधरीले नगरसम्म आउन सक्ने आर्थिक अवस्था समेत नभएका तथा पूर्ण अपाङ्गता भएका व्यक्तिहरूलाई सहजकर्तामार्फत घरघरमै पुगेर सेवा प्रदान गरिरहेको बताउनुभएको छ।
गौरादह नगरपालिकाको सहयोगमा एफएम प्लस ८९.१ मेगाहर्जद्वारा आयोजित ‘अपाङ्गताका सवाल र गौरादह नगरपालिका’ विषयक रेडियो अन्तरक्रिया कार्यक्रममा सहभागीहरूका जिज्ञासाको समाधान गर्दै उप-प्रमुख चौधरीले अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रममार्फत अपाङ्गता भएका बच्चा जन्मिन नदिन नवविवाहित जोडीलाई शुभकामना तथा सचेतनामूलक सन्देशसहितका कार्ड घरघरमा पुर्याउने कार्यसमेत भइरहेको जानकारी दिनुभयो।
नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि केही महत्वपूर्ण कामहरू गरिरहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि यस क्षेत्रप्रति जिम्मेवार भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अपाङ्गता समावेशी समाज गौरादहका अध्यक्ष शेषकुमार बोगटीले नगर तथा वडास्तरमा हुने कार्यक्रममा सहभागी हुन अपाङ्गता–मैत्री सभाहलको आवश्यकता रहेको उल्लेख गर्दै यस विषयमा नगरपालिकाको ध्यानाकर्षण गराउनुभयो।
अपाङ्गता भएका व्यक्तिहरू सामान्यतः आर्थिक रूपमा कमजोर हुने भएकाले समन्वय समितिका बैठकहरूमा उनीहरूलाई उपलब्ध गराइँदै आएको यातायात खर्च कटौती गरिएकोप्रति गुनासो व्यक्त गर्दै सहभागिता सुनिश्चित गर्न उक्त भत्ता नकटाउन आग्रह गर्नुभयो।
कार्यक्रममा अपाङ्गता समावेशी कृषि सहकारीका अध्यक्ष छविलाल भेटवालले सहकारी सञ्चालनको अन्तिम तयारी भइरहेको जानकारी गराउँदै आवश्यक सहयोगका लागि नगरपालिकासँग आग्रह गर्नुभयो।
अन्तरक्रियामा व्यवसायी तथा अपाङ्गता क्षेत्रका अगुवा कृष्ण शर्माले अपाङ्गता क्षेत्रका विभिन्न समस्याबारे धारणा राख्नुभयो। अटिजम भएका बालबालिकाका अभिभावक जीवन प्रसाईंले अटिजमसम्बन्धी समस्या तथा स्थानीय सरकारप्रतिको अपेक्षा व्यक्त गर्नुभयो भने पूर्ण अपाङ्गता भएका सदस्यका अभिभावक शिव दाहालले अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक सहायता तथा शैक्षिक सामग्रीको व्यवस्थापनलगायतका विषयमा आफ्ना धारणा राख्नुभयो।
अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमका सहजकर्ता घनश्याम श्रेष्ठले सहजकर्ताहरूका तर्फबाट गौरादह नगरपालिकामा भइरहेका गतिविधिबारे जानकारी गराउनुभएको कार्यक्रममा मिलिजुली समूहका प्रतिनिधि चन्द्रकला कार्की, कुमार श्रेष्ठ, अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमका सहजकर्ता यज्ञनिधि खतिवडा, अपाङ्गता सहायक सहजकर्ता अप्सरा राउत तथा सामाजिक व्यक्तित्व शेरबहादुर कार्कीको समेत उपस्थिति रहेको थियो।कार्यक्रममा सहभागीहरूले आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणको पूर्वसन्ध्यामा एफएम प्लस ८९.१ मेगाहर्जले आयोजना गरेको उक्त अन्तरक्रियाबाट उठेका अपाङ्गता क्षेत्रका सवाल, आवश्यकता तथा सुझावहरू नगरपालिकाको नीति तथा कार्यक्रममा समेटिने अपेक्षा व्यक्त गरेका थिए।
एफएम प्लस ८९.१ मेगाहर्जका प्रवन्ध निर्देशक युवराज भट्टराईले सञ्चालन गर्नुभएको कार्यक्रमको व्यवस्थापन स्टेसन संयोजक मञ्जु डाँगीले गर्नुभएको थियो भने प्राविधिक संयोजनमा रमिशा कुँवरले सहयोग गर्नुभएको थियो।

