२६ पुस- पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटीबाट निस्किएको दुई दशकमा पनि देश नबनेको भन्दै अब त देश नै नबस्ने हो कि भन्ने चिन्ता थपिएको बताउनु भएको छ ।
३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सन्देश दिदै पुर्वराजा शाहले यस्तो बताउनु भएको हो।
“जस्तोसुकै अवस्थामा पनि संघर्ष गरेर सबै क्षेत्रका नेपालीको शक्ति सवल र सफल नेतृत्व गरेको शाहवंशीय राजसंस्थाको इतिहास सबैका सामु छर्लंग छ,” उहाँले भन्नुभएको छ “पलायन वा निषेधित राजनीतिका लागि थिएन । नारायणहिटी दरबारबाट हामी बाहिरिएको करिब दुई दशक बित्दा पनि देशले सामना गरिरहनुपरेको संकटले हामीलाई चिन्तित तुल्याएको छ । हिजो देश नबनेकोमा चिन्ता थियो आज देश नै नबस्ने हो कि भन्ने निरासा पैदा भएको छ ।”
“स्वदेशको पुँजी पलायतमा रोक लगाउनुपर्नेछ । जनता सक्षम र बलिया भएमात्र देश बलियो हुन्छ भन्ने दिव्य उपदेशमा उल्लेख छ,” पूर्वराजा शाहले भन्नुभएको छ , “जब जब युवा पुस्ताको चाहना र भावनाको सम्बोधन गरिँदैन तब असन्तोष पैदा हुन्छ । त्यसले विद्रोह निम्त्याउँछ ।”उनले युवालाई राजनीतिक दलले प्रयोगमात्रै गरेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
उनले नेपालको संवेदनशील अवस्था र बदलिँदो भूराजनीतिलाई बुझने नसक्दा मित्र राष्ट्रको विश्वास र भरोसा गुमाउने अवस्थामा पुगेको बताउनु भएको छ ।

