फागुन १५– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर २ लाख २१ हजार कर्मचारी खटिने भएका छन्। ७७ जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्रमा रहेका २३ हजार १ सय १२ मतदान केन्द्र तथा समानुपातिकतर्फ मात्र मत खसाल्ने १ सय ४३ अस्थायी केन्द्रमा उक्त सङ्ख्यामा कर्मचारी परिचालन गरिने भएको हो।
निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपाने का अनुसार ५ सयभन्दा धेरै मतदाता रहेका मतदान केन्द्रमा ९ जना र ५ सयभन्दा कम मतदाता भएका केन्द्रमा ८ जनाका दरले कर्मचारी खटाइने व्यवस्था मिलाइएको छ।
आयोगले मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आवश्यक प्रशिक्षण दिइसकेको जनाएको छ। साथै, सम्बन्धित केन्द्रमा खटिने अन्य कर्मचारीलाई भने मतदान अधिकृतमार्फत नै प्रशिक्षण दिने व्यवस्था गरिएको छ।
यसैबीच, निर्वाचन सामग्री र मतपत्र देशभरका सबै १ सय ६५ निर्वाचन क्षेत्रमा पुगिसकेको आयोगले जानकारी दिएको छ। आवश्यक व्यवस्थापन तथा सुरक्षा तयारी अन्तिम चरणमा पुगेको आयोगको भनाइ छ।
फागुन २१ का लागि २ लाख २१ हजार कर्मचारी खटिँदै
Leave a Comment
Leave a Comment

