देशभरका १ सय ६५ क्षेत्रमा निर्वाचन सामग्री पुग्यो, ४ करोडभन्दा बढी मतपत्र वितरण

1 Min Read

 फागुन १५ — आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा आवश्यक सामग्री पुगिसकेको छ। प्रत्यक्ष र समानुपातिकतर्फ गरी ४ करोड ११ लाख ५३ हजार मतपत्र ७७ वटै जिल्लाका सबै निर्वाचन क्षेत्रमा पुर्‍याइएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो।

आयोगका अनुसार केही आवश्यक सामग्री भने सम्बन्धित जिल्लामै व्यवस्थापन गरिनेछ। निर्वाचन अधिकृतको कार्यालयबाट मतदान अधिकृतको जिम्मामा सबै निर्वाचन सामग्री हस्तान्तरण गरिने व्यवस्था मिलाइएको छ।
निर्वाचन आयोगले स्वीकृत कार्यक्रमअनुसार मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम फागुन ३ गतेदेखि सञ्चालन गरिरहेको जनाएको छ। उक्त कार्यक्रम फागुन १७ गतेसम्म देशभरका ७ सय ५३ पालिकाका ६ हजार ७ सय ४३ वडामा निरन्तर सञ्चालन हुनेछ।

यसैबीच, निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समितिलगायतका संयन्त्रहरूले निरन्तर अनुगमन तथा परिपालनामा सक्रियता देखाइरहेका छन्।
फागुन ४ गतेदेखि राजनीतिक दलहरूले चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन्। प्रचारप्रसारलाई शिष्ट, मर्यादित र आचारसंहिताअनुसार बनाउन आयोगले दल तथा उम्मेदवारहरूलाई निर्देशन दिइसकेको जनाएको छ।

Share This Article
Leave a Comment