निर्वाचन सुरक्षा : सातै प्रदेशमा खटिए एआईजी

2 Min Read

१४ फागुन- २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले सातै प्रदेशमा सात जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) खटाएको छ।
निर्वाचन सुरक्षालाई चुस्त र प्रभावकारी बनाउन प्रहरी प्रधान कार्यालय तथा विभिन्न विभागमा कार्यरत सात एआईजीलाई प्रदेश कमाण्डको जिम्मेवारी दिइएको हो। उनीहरू निर्वाचन अवधिभर सम्बन्धित प्रदेशमै रहेर मातहतका जिल्लाहरूको समग्र सुरक्षा कमाण्ड सम्हाल्नेछन्।

कोशी प्रदेशमा मानव स्रोत विभागका एआईजी राजन अधिकारीलाई खटाइएको छ। उनले प्रदेशका विभिन्न जिल्लामा पुगेर अनुगमन तथा निर्देशन दिइरहेका छन्। कोशी प्रदेशका प्रहरी प्रमुख भने डीआईजी विनोद घिमिरे रहेका छन्।
कोशी प्रदेशकै सबैभन्दा चुनौतीपूर्ण मानिएको झापामा एसएसपीसमेत खटाइएको छ। एसएसपी गोविन्द अधिकारीलाई झापा र इलामको सुरक्षा कमाण्डको जिम्मेवारी दिइएको छ। झापा जिल्लाका प्रहरी प्रमुख भने एसपी बसुन्धरा खड्का रहेकी छन्।
मधेश प्रदेशमा एआईजी डम्बर बिक, बागमती प्रदेशमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआईजी सिद्धिविक्रम शाह, गण्डकी प्रदेशमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत एआईजी डा. मनोज केसी, लुम्बिनी प्रदेशमा कार्य विभागका प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदी, कर्णाली प्रदेशमा अपराध अनुसन्धान विभागका एआईजी सुशील सिंह राठौर तथा सुदूरपश्चिम प्रदेशमा प्रशासन विभागका प्रमुख एआईजी हिमालयकुमार श्रेष्ठलाई कमाण्डको जिम्मेवारी दिइएको छ।

त्यस्तै, उपत्यकाका तीन जिल्लाको सुरक्षा कमाण्ड एआईजी ईश्वर कार्कीले सम्हाल्नेछन्। काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले उपत्यकाको निर्वाचन सुरक्षाका लागि एसएसपी रमेश बस्नेतको कमाण्डमा विशेष सेलसमेत खडा गरेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अविनारायण काफ्लेका अनुसार प्रत्येक जिल्लामा कम्तीमा एसपी स्तरका अधिकृतबाट निर्वाचन सुरक्षा कमाण्ड हुने व्यवस्था मिलाइएको छ। डीएसपीले कमाण्ड गर्दै आएका पहाडी जिल्लाहरूमा समेत एसपी खटाइएको उनले जानकारी दिए।
त्यसैगरी, एसपीले कमाण्ड गर्दै आएका जिल्लाहरूमा सुरक्षा चुनौतीको अवस्थालाई ध्यानमा राख्दै आवश्यकताअनुसार एसएसपी खटाइएको छ। खटाइएका एसपी तथा एसएसपीलाई दुई वटासम्म जिल्लाको सुरक्षा कमाण्डको जिम्मेवारी दिइएको जनाइएको छ।

Share This Article
Leave a Comment