२५ पुष , झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै झापा जिल्लामा करिब ७ हजार ५०० सुरक्षाकर्मी परिचालन गरिने भएको छ । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गर्न नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा निर्वाचन प्रहरी (म्यादी सुरक्षाकर्मी) परिचालन गरिने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार यसपटक जिल्लामा ४ हजार ७४८ जना निर्वाचन प्रहरी परिचालन गरिनेछ । ती सुरक्षाकर्मीको छनोटका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीतर्फ संयुक्त रूपमा भर्ना प्रक्रिया सुरु भइसकेको छ ।
झापामा कुल २८५ मतदानस्थल र ८१५ वटा मतदान केन्द्र तोकिएका छन् । जसमध्ये ९५ मतदानस्थल र २७१ मतदान केन्द्रलाई अतिसंवेदनशील वर्गमा राखिएको छ । यसैगरी १४७ मतदानस्थल संवेदनशील र ४३ वटा सामान्य रहेको प्रजिअ गेलालले जानकारी दिए ।
त्यस्तै, मतदान केन्द्रतर्फ ३९० वटा संवेदनशील र १०५ वटा सामान्य केन्द्र रहेका छन् । अघिल्लो निर्वाचनको तुलनामा यसपटक झापामा ४९ मतदान केन्द्र थप गरिएको छ ।
निर्वाचनमा परिचालन हुने ४ हजार ९४७ जना निर्वाचन प्रहरीको छनोटका लागि आजदेखि भर्ना प्रक्रिया सुरु गरिएको हो । भर्ना हुन इच्छुकले आजदेखि माघ ५ गतेसम्म दरखास्त दिन सक्ने जनाइएको छ ।

