पुष २६- निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाईको काम सुरु गरेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले समानुपातिकतर्फको मतपत्र छपाई सुरु भइसकेको जानकारी दिनुभयो । आयोगका अनुसार माघ ९ गतेसम्म समानुपातिकतर्फको सम्पूर्ण मतपत्र छपाईको काम सकिनेछ ।
समानुपातिकतर्फको मतपत्रमा बन्द सूची बुझाएका ५८ राजनीतिक दलका चुनाव चिह्न समावेश हुनेछन् । उक्त मतपत्र देशभर एउटै आकारमा प्रयोग गरिने आयोगले जनाएको छ । समानुपातिक प्रणालीतर्फ कुल २ करोड ८ लाख ५० हजार थान मतपत्र छापिनेछ ।
समानुपातिकतर्फको मतपत्र छपाई सम्पन्न भएपछि आउँदो माघ १२ गतेदेखि प्रत्यक्षतर्फको मतपत्र छपाई सुरु गरिनेछ । प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ता माघ ६ गते तोकिएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीका लागि २ करोड थान मतपत्र छापिने आयोगले जनाएको छ ।
यसपटकको निर्वाचनका लागि देशभर कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता रहेका छन् ।

