साउन १०- देशका प्रमुख राजमार्ग बाढीपहिरो र कटानका कारण सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार आज बिहान ५ बजेसम्म काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा राति सवारी सञ्चालनमा लगाइए प्रतिबन्ध जारी छ । सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा साँझ ६ देखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा हिलो थुप्रिएपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यसैगरी कान्ति लोकपथमा पनि वर्षायामका कारण अर्को सूचना नभएसम्म साँझ ५ देखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो तथा वडा नं २ कोदारीस्थित अरनिको राजमार्गमा पहिरो खसेकाले सो खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ भने पासाङ ल्हामु सडकखण्डमा पहिरो खस्दा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडकखण्ड पनि अवरुद्ध भएको छ ।

