माघ १२ गते । काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। निवेदक धर्मराज तिमिल्सिनाले दिएको उजुरीमा शाहले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता, प्रचलित कानून तथा लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत रहेको आरोप लगाइएको छ।
उजुरीमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमा प्रस्ताव गरेको बहसको सन्दर्भमा बालेन शाहले प्रयोग गरेका केही शब्दहरू प्रमाणबिनै लगाइएका गम्भीर, भ्रामक र मानहानिकारक आरोप भएको दाबी गरिएको छ। यस्ता अभिव्यक्तिले व्यक्तिको सामाजिक प्रतिष्ठामा क्षति पुर्याउने, राजनीतिक दलप्रति घृणा फैलाउने र मतदातालाई भ्रमित पार्ने खतरा रहेको निवेदनमा उल्लेख छ।
निवेदनमा नेपालको संविधान, निर्वाचन आचारसंहिता तथा प्रचलित कानूनले निर्वाचन अवधिमा घृणात्मक अभिव्यक्ति, भ्रामक सूचना तथा अपुष्ट आरोप प्रयोग गर्न निषेध गरेको स्मरण गराउँदै उक्त विषयमा तथ्यपरक छानबिन गरी आचारसंहिता उल्लंघन ठहर भए आवश्यक कारबाही गर्न माग गरिएको छ।
यसैबीच,सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार हर्क साम्पाङविरुद्ध पनि निर्वाचन आयोगमा उजुरी परेको छ। श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले चुनावी प्रचारका क्रममा बालबालिकाको प्रयोग गरेको आरोप लगाउँदै धरान नगर बाल सञ्जालले उजुरी दिएको हो।
सञ्जालले जिल्ला प्रहरी कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा दिएको उजुरीमा बालबालिका ऐन, २०७५ को परिच्छेद २, दफा ७ अनुसार बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै उक्त प्रावधान उल्लंघन भएको दाबी गरिएको छ। उजुरीमा साम्पाङलाई निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित गराई छलफल गर्न र आचारसंहिता उल्लंघनको विषयमा आवश्यक कारबाही गर्न माग गरिएको छ।
निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार प्रमुख निर्वाचन अधिकृतको संयोजकत्वमा उजुरी अध्ययन समिति गठन भइसकेको छ र समितिले अध्ययनपछि आवश्यक प्रक्रिया अघि बढाउनेछ। कानुनअनुसार बालबालिकाको दुरुपयोग प्रमाणित भए एक लाख रुपैयाँसम्म जरिवाना तथा उम्मेदवारी खारेज हुनसक्ने व्यवस्था छ। सुनसरी–१ मा प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते मतदान हुँदैछ।

