२६ पुष, झापा- भद्रपुर क्रिकेट क्लबको आयोजनामा भद्रपुरस्थित मेची रङ्गशालाको नवनिर्मित मैदानमा आगामी माघ २१ देखि २८ गतेसम्म ‘कोशी पाथिभरा इन्डो–नेपाल टी–२० च्याम्पियनसिप कप क्रिकेट प्रतियोगिता’ आयोजना हुने भएको छ।
प्रतियोगितामा नेपालका चार र भारतका चार टोली सहभागी हुनेछन्। प्रतियोगिताका विजेताले नगद ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक समितिका संयोजक मनोज सुब्बाले जानकारी दिनुभयो।
भारतबाट राइनोल्यान्ड क्रिकेट एकेडेमी (गुवाहाटी), ग्लोबल स्टार क्रिकेट क्लब (लखनउ), क्रिकेट कोचिङ एकेडेमी (न्यु दिल्ली) र स्नो लायन टिम (सिक्किम) सहभागी हुनेछन्। त्यस्तै नेपालतर्फबाट भद्रपुर क्रिकेट क्लब, विराटनगर किङ्ग्स डेभलपमेन्ट स्क्वाड, पोखरा एभेन्जर्स गण्डकी हिरोज डेभलपमेन्ट स्क्वाड र काठमाडौँ गोर्खाज डेभलपमेन्ट स्क्वाड ले प्रतिस्पर्धा गर्नेछन्।
भारतबाट सहभागी टोलीमा रणजी ट्रफी खेलिसकेका खेलाडीहरू तथा नेपाली टोलीमा एनपीएल खेलिसकेका खेलाडीहरू मैदानमा उत्रिने संयोजक सुब्बाले बताउनुभयो।
भद्रपुर नगरपालिका–८ स्थित मेची बहुमुखी क्याम्पसको खेल मैदान लिजमा लिएर भद्रपुर क्रिकेट क्लबले तीन वर्षको अवधिमा आधुनिक क्रिकेट मैदान निर्माण गरेको हो। प्रतियोगिता सोही मैदानमा सञ्चालन हुनेछ। मैदानको दर्शक क्षमता १० हजार रहेको छ।
खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिताको नाममा कोशी र पाथिभरा जोडिएको आयोजकको भनाइ छ। झापा क्रिकेट सङ्घका अध्यक्ष प्रवीण थापाले भद्रपुरमा आयोजना हुन लागेको यस प्रतियोगिताले नयाँ खेलाडी उत्पादन र नेपालको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
प्रतियोगिता सञ्चालनका लागि करिब १ करोड २२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ

