पुस २६ । नेपाली कांग्रेस संस्थापन पक्षले विशेष महाधिवेशनको काउन्टरमा आयोजना गर्न लागिएका दुईवटा भेला स्थगित गरेको छ । वरिष्ठ पत्रकार तथा पूर्वमन्त्री होमनाथ दाहालको निधनप्रति शोक व्यक्त गर्दै कांग्रेसले तीन दिन शोक मनाउने निर्णय गरेसँगै ती कार्यक्रम स्थगित गरिएको हो ।
दाहाल २०५६ सालको आम निर्वाचनमा ओखलढुंगा निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनले कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए ।
पार्टीको निर्णयलाई सम्मान गर्दै भोलि र पर्सि आयोजना हुने दुई छुट्टाछुट्टै भेला स्थगित गरिएको केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिए ।“पार्टीले तीन दिन कुनै पनि कार्यक्रम नगर्न निर्देशन दिएको छ । होमनाथ दाहाल पार्टीका वरिष्ठ नेता हुनुहुन्थ्यो,” बरालले भने, “उहाँको शोकमा सबै कार्यक्रम स्थगित गरेका हौं।”
कांग्रेसले पुस २६, २७ र २८ गतेसम्म पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । साथै पुस २७ गते केन्द्रीय, प्रदेश र जिल्ला तहका सबै कार्यालय बन्द रहनेछन् ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काका अनुसार स्वर्गारोहणको १३ दिनसम्म केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राखिनेछ । १३औँ दिन ओखलढुंगामा शोक सभाको आयोजना गर्ने प्रस्तावसमेत केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको छ ।
यसैबीच कांग्रेसको इतर पक्षले पुस २७ गते नै विशेष महाधिवेशनको मिति तय गरेको छ । संस्थापन पक्षले त्यसको काउन्टरमा भेला आयोजना गर्ने तयारी गरेको भए पनि दाहालको निधनका कारण ती कार्यक्रम स्थगित गरिएको हो ।

