माघ शुक्ल पूर्णिमामा स्वस्थानी व्रत समापन, देशभर पूजा–जाग्रामको तयारी

1 Min Read

माघ १८— माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो श्रद्धा, नियम र उपासनासहित गरिएको स्वस्थानी व्रत कथा विधिपूर्वक समापन गरिँदैछ। पुस शुक्ल पूर्णिमादेखि सुरु गरिएको यस व्रतअन्तर्गत भक्तजनहरूले नित्य मध्याह्नकालमा पार्वतीसहित भगवान् महादेवको पूजा–आराधना गर्दै आएका थिए।
स्कन्द पुराणको केदार खण्डअन्तर्गत रहेको माघ माहात्म्यमा कुमार र अगस्त्य ऋषिबीच भएको संवादलाई आधार मानेर वाचन गरिने स्वस्थानी कथा पनि आजबाट समापन हुँदैछ। एक महिनासम्म घरघरमा तथा मन्दिर परिसरमा बसेर कथा वाचन र श्रवण गर्ने परम्परा आज औपचारिक रूपमा टुंगिने भएको हो।


नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज मध्याह्नकालपछि विधिपूर्वक पूजा, व्रत समापन तथा विशेष धार्मिक अनुष्ठान गरिन्छ। व्रतालुहरू रात्रिभर जाग्राम बस्ने र भोलि बिहान फूलपाती नदीमा सेलाएर व्रत समापन गर्ने प्रचलन रहेको छ।
यस अवसरमा देशका विभिन्न शक्तिपीठ तथा शिवालयहरूमा भक्तजनको उल्लेख्य भीड लागेको छ। विशेषगरी महिलाहरूले परिवारको सुख, शान्ति, समृद्धि तथा मनोकामना पूर्तिको कामनासहित यो व्रत बस्ने गर्दछन्।


Share This Article
Leave a Comment