२३ बैशाख ,झापा — गौरीगन्ज गाउँपालिकाका प्राथमिक तहका सामुदायिक विद्यालयका अभिभावक आमाहरूलाई उत्प्रेरित गर्ने कार्यक्रम ‘सन्तानका लागि आमा’ सुरु भएको छ।
गौरीगन्ज–६ को गौरीया डाँगीमा अवस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा आज सन्तानको उज्ज्वल भविष्यका लागि आमाहरूलाई उत्प्रेरित गर्दै कार्यक्रम सुरु गरिएको हो। गत वर्ष पालिकाका केही विद्यालयमा सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी भएपछि यस वर्ष पनि गौरीगन्ज गाउँपालिका र प्लस मिडिया नेटवर्क प्रालि (एफएम प्लस ८९.१ मेगाहर्ज) को सहकार्यमा ८ वटा सामुदायिक विद्यालयमा कार्यक्रम आयोजना गरिनेछ।
आजको कार्यक्रममा जनप्रतिनिधि, प्रधानाध्यापक,शिक्षक अभिभावक संघका पदाधिकारी सहित कार्यक्रमका परिकल्पनाकार एवं एफएम प्लस ८९.१ मेगाहर्जका प्रवन्ध निर्देशक युवराज भट्टराईलगायतले आमाहरूलाई सन्तानलाई असल, स्वस्थ र सफल बनाउन ध्यान दिनुपर्ने विषयहरूबारे जानकारी गराउँदै व्यवहारमा उतार्न प्रेरित गर्नुभयो।
अधिकांश मुस्लिम समुदायका विद्यार्थी अध्यायन गर्ने विद्यालयमा उल्लेख्य संख्यामा उपस्थित सन्तानको भविष्यप्रति चिन्तित आमाहरूलाई वडा नम्बर ६ का वडा सदस्य आशामुद्दिन मोहम्मद,विद्यालयका प्रधानाध्यापक भिम कुमार उप्रेती, शिक्षक अभिभावक संघका अध्यक्ष महम्मद रजिमिया तथा गुरुआमा गोमा कुमारी तिम्सिनाले विभिन्न विषयमा उत्प्रेरित गर्नुभयो।


कार्यक्रममा पैसाको सही प्रयोग,असल खानपान, असल संगत, नियमितता, अभिभावकद्वारा गरिने विद्यालय अनुगमनको महत्त्व, सामाजिक सञ्जालको सदुपयोग, व्यवहारिक ज्ञानको महत्त्व लगायत विभिन्न विषयमा अभिभावक आमाहरूलाई जानकारी गराइएको थियो।
कार्यक्रममा उत्साह पुर्वक सहभागी भएका आमाहरूले अन्त्यमा एफएम प्लस ८९ .१ मेगाहर्जका स्टेसन संयोजन मन्जु डाँगीसंग कार्यक्रमको बारेमा प्रतिक्रिया दिदै आफुहरुले छोराछोरीको उज्ज्वल भविस्यका लागि ध्यान दिनुपर्ने कुराहरुको बारेमा धेरैकुरा थाहा पाएको भन्दै सन्तानको भविस्य उज्ज्वल बनाउन लागि पर्ने प्रतिक्रिया समेत जनाउनुभयो ।भोलि गौरिगन्ज १ मा अवस्थित जनकल्याण आधारभूत विद्यालय कार्यक्रम संचालन गरिने छ ।

