गौरादह बजारमा कोसेली घर संचालन

3 Min Read

२४ वैशाख, झापा – गौरादह नगरपालिकाको सहयोग र संकल्प उद्यमी महिला समूहको लागत साझेदारीमा कोसेली घर सञ्चालनमा ल्याइएको छ । नगरका उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरू बिक्री वितरण गर्ने उद्देश्यले गौरादह बजारमा सञ्चालनमा ल्याइएको कोसेली घरको आज गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदीले उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख छत्रपति सुवेदीले नगरपालिकाले विभिन्न सीपमूलक कार्यक्रममार्फत सीप सिकाएका तथा नगरभित्रका अन्य उद्यमीहरूका उत्पादनको बजारीकरण गर्दै आत्मनिर्भर बनाउने उद्देश्यले कोसेली घरको स्थापना गरिएको बताउनुभयो । स्थानीय उद्यमीले आफूले उत्पादन गरेका विभिन्न सामग्री कोसेली घरमार्फत बिक्री गरेर आयआर्जन गर्ने उहाँको विश्वास थियो । अनुदाननै त हो भनेजस्तो गरेर नभई प्रभावकारी रूपमा पसल सन्चालन गरे आगामी दिनमा पनि सहयोग गर्ने भन्दै नगर प्रमुख सुवेदीले कार्यविधिअनुसार संचालन नभएको पाईए सम्झौता रद्द गरि नगरले अन्य संस्था संग पनि सम्झौता गर्न सक्ने बताउनुभयो ।
नगर उपप्रमुख जलवर्षा राजवंशी चौधरीले धेरै अगाडि गर्नुपर्ने भए पनि अहिले स्पष्ट कार्यविधि बनाएर कोसेली घर सञ्चालनमा ल्याइएको बताउनुभयो । अब यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्नु आवश्यक रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा संघसंस्थाहरूका तर्फबाट आफ्नो धारणा राख्दै अग्रणी महिला गंगा कार्कीले धेरैभन्दा धेरै उद्यमीहरूलाई समेट्नु जरुरी रहेको बताउँदै पसलमा राखिएका खाद्य सामग्रीको गुणस्तरमा ध्यान दिनुपर्नेमा पनि जोड दिनुभयो ।

समापन मन्तव्य राख्नुहुँदै संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति रुक्मणी कोइरालाले संकल्प र गौरादह नगरपालिकाको साझेदारीमा गौरादहका उद्यमीहरूले उत्पादन गरेका स्थानीय सामग्रीहरूलाई प्रोत्साहन र बजारीकरण गर्न कोसेली घरको स्थापना गरिएको भन्दै नगरका सबै उद्यमीलाई सम्पर्कमा आई आफ्ना उत्पादन ल्याएर हातेमालो गर्न आग्रह गर्नुभयो ।

उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी, गौरादह १, २ र ७ का वडाध्यक्षहरू क्रमशः नगेन्द्र भण्डारी, गोपालप्रसाद कोइराला तथा बलराम खरेल लगायतका जनप्रतिनिधि, नगरको महिला बालबालिका शाखा प्रमुख कविता तुम्बापो, विभिन्न व्यावसायिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधि, संकल्प उद्यमी महिला समूहका सदस्य तथा पदाधिकारीहरू सहित स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो ।

संस्थाका सचिव प्रविणा ढुंगानाले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष गंगा निरौलाले गर्नुभएको थियो । नगरपालिकाको ७० तथा संकल्पको ३० प्रतिशत लागत साझेदारी रहेको कोसेली घरमा हाल स्थानीय रूपमा उत्पादित ब्याग-झोला, साबुन, सर्फ, फिनेल, हर्पिक, अचार, मकै-चनाको सातु, फापर-दालको पिठो, मकैको चामल, मह, दुना टपरी, बाटेको धूप, लाखबत्ती, गुडिया, कुशन लगायत सामग्री राखिएको संस्थाका कोषाध्यक्ष गंगा निरौलाले जानकारी दिनुभयो । आगामी दिनमा उद्यमीहरूसँगको सम्पर्कसँगै नगरभित्रका धेरैभन्दा धेरै उत्पादन समेटिने संस्थाले जनाएको छ ।

Share This Article
Leave a Comment