व्यक्तिगत घटना दर्ताको विवरणबाट मतदाता नामावली अद्यावधिक गरिने

1 Min Read

कात्तिक १५ – कार्तिक १४, झापा । निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट व्यक्तिगत घटना दर्तासम्बन्धी विवरण लिएर मतदाता नामावली अद्यावधिक तथा प्रमाणीकरण गर्ने भएको छ ।
निर्वाचन आयोग र विभागबीच व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणालीमा रहेका विवरण उपयोग गरी मतदाता नामावली अद्यावधिक गर्ने समझदारी भएपछि उक्त प्रक्रिया अघि बढ्न लागेको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समझदारीअनुसार विभागले आफ्नो प्रणालीमा रहेका व्यक्तिगत घटना दर्तासम्बन्धी विवरण सुरक्षित प्राविधिक माध्यमबाट आयोगलाई उपलब्ध गराउनेछ ।
मतदाता नामावली अद्यावधिक प्रक्रियालाई सहज, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले दुवै निकायबीच यही कात्तिक १२ गते समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
समझदारीपत्रमा विवरणको सुरक्षित आदानप्रदान तथा उपयोगका लागि आवश्यक प्राविधिक प्रणाली विकास गर्ने, तथ्याङ्कको सुरक्षा र गोपनीयता कायम गर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, समझदारी कार्यान्वयनका क्रममा उत्पन्न हुन सक्ने प्राविधिक समस्या समाधानका लागि दुवै निकायका प्रतिनिधि सम्मिलित संयुक्त प्राविधिक कार्यसमूह गठन गरिनेछ ।
यस सहकार्यबाट मतदाता नामावली अद्यावधिक तथा विवरण प्रमाणीकरण कार्य थप व्यवस्थित, विश्वसनीय र प्रभावकारी हुने अपेक्षा गरिएको आयोगले जनाएको छ ।

Share This Article
Leave a Comment