शुभलक्ष्मी सहकारीको खुद नाफा ७१ लाख ४९ हजार

3 Min Read

भदौ २७ , झापा – शुभलक्ष्मी बहुदेशीय सहकारी संस्था लिमिटेड, गौरादहले आर्थिक वर्ष २०८२/८३ मा ७१ लाख ४९ हजार ३ सय ३१ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।
संस्थाले आज सार्वजनिक गरेको यही असोज ३ गते हुने २८औँ वार्षिक साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदनअनुसार कर अघिको नाफा ८० लाख १३ हजार ३ सय ६२ रुपैयाँ रहेकोमा सम्पूर्ण कर कटाएर ७१ लाख ४९ हजार ३ सय ३१ रुपैयाँ खुद नाफा आर्जन गरेको हो। सार्वजनिक प्रतिवेदनअनुसार २०८३ असार मसान्तसम्म संस्थाको शेयर पुँजी ८ करोड ३९ लाख ८९ हजार ४ सय रुपैयाँ र जगेडा कोषमा ५ करोड ४१ लाख २० हजार ४५ रुपैयाँ रहेको छ।

२०५५ सालमा जिल्ला सहकारी कार्यालय झापामा दर्ता भई २०५६ साल वैशाख १ गतेदेखि १०१ जना शेयर सदस्यबाट संकलित ५ लाख ५ हजार रुपैयाँबाट कारोबार सुरु गरेको संस्थाले गौरादह बजारका साथै गौरादह नगरपालिकाको बैगुन्धरा तथा चप्रामारी बजारमा समेत सेवा केन्द्र स्थापना गरी सेवा प्रदान गर्दै आएको छ। संस्थाले सदस्यहरूको सहजताका लागि एटीएम डेबिट कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोडलगायतका सेवा प्रदान गर्दै आएको छ। गौरादह बजारमा अवस्थित आफ्नै भवनबाट सञ्चालन हुँदै आएको शुभलक्ष्मी सहकारी पसलमार्फत सदस्यहरूका साथै आम उपभोक्तालाई समेत सुपथ मूल्यमा खाद्यान्नलगायत विभिन्न सामग्री बिक्री गर्दै आएको छ।

असार मसान्तसम्म १ हजार ९ सय ९७ महिला, १ हजार ६ सय ४४ पुरुष गरी जम्मा ३ हजार ५ सय ९७ जना र संस्थागत ७ सदस्य रहेको संस्थाले सदस्यहरूलाई १ लाख रुपैयाँको दुर्घटना मृत्यु बीमा, जीवनकालमा एक पटक ५० हजार रुपैयाँसम्म उपचार सुविधा, ५० हजार रुपैयाँसम्म सदस्य मृत्यु राहत सुविधा, दुई बच्चासम्मका लागि ५ हजार ५५ रुपैयाँ सुत्केरी सुविधा खर्च, एम्बुलेन्स सेवा शुल्कमा सदस्यलाई १५ प्रतिशत तथा एकाघर परिवारलाई १० प्रतिशत छुटलगायत ३० भन्दा बढी सुविधा प्रदान गर्दै आएको संस्थाका अध्यक्ष प्रकाश कार्कीले जानकारी दिनुभयो। संस्थाले कर्मचारीको मासिक तलबमा १० प्रतिशत वृद्धि गर्ने प्रस्ताव गर्नुका साथै कृषि कार्यक्रम, सदस्य दुर्घटना मृत्यु बीमा, सदस्य शिक्षा, राहत, विप्रेषण, बचत तथा कर्जा लगानीलगायत विगतदेखि सञ्चालन हुँदै आएका कार्यक्रमलाई निरन्तरता दिने प्रस्ताव गरेको छ।

संस्थाको २८औँ वार्षिक साधारणसभामा विभिन्न विधामा ४० जना सदस्य तथा कर्मचारीलाई सम्मान गर्ने कार्यक्रमसमेत प्रस्ताव गरिएको छ। उत्कृष्ट बचत तथा ऋण कारोबारी, नियमित बचतकर्ता, रेमिट कारोबार, बाल बचतकर्ता, महिला समूह, पसल सामान खरिद, ज्येष्ठ सदस्य, पूर्वसञ्चालक, कर्मचारी तथा शुभलक्ष्मी शैक्षिक प्रोत्साहन पुरस्कारअन्तर्गत सम्मान गरिने कार्यक्रम प्रतिवेदनमा समेटिएको व्यवस्थापक तिलक कार्कीले जानकारी दिनुभयो।

दक्षिण–पश्चिम झापाको ग्रामीण बजारमा स्थापना भएर यस क्षेत्रका सहकारीमध्ये आफ्नो छुट्टै सबल पहिचान बनाउन सफल शुभलक्ष्मी बहुदेशीय सहकारी संस्थाले यही असोज ३ गते शनिबार गौरादह–३ मा अवस्थित गौरादह उद्योग वाणिज्य संघको सभाहलमा २८औँ वार्षिक साधारणसभा सम्पन्न गर्ने जनाएको छ।

Share This Article
Leave a Comment