३१ जेठ, गौरादह – गौरादह नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष एवं नगर प्रवक्ता नगेन्द्र भण्डारीले नगरपालिकाले संघ–संस्थाहरूसँग सामाजिक हितका कार्यमा सहकार्य गर्ने कुरालाई प्राथमिकतामा राखेको बताउनुभएको छ।
नगरपालिकाको सहयोगमा एफएम प्लस ८९.१ मेगाहर्जले आयोजना गरेको ‘सामाजिक हितका लागि स्थानीय संस्था र नगरपालिका बीचको सहकार्य : औचित्य र आवश्यकता’ विषयक रेडियो अन्तरक्रिया कार्यक्रममा सहभागी संघ–संस्थाका प्रतिनिधिहरूलाई सम्बोधन गर्दै प्रवक्ता भण्डारीले गौरादह नगरपालिका तथा वडाहरूले विगतमा पनि सचेतना प्रवाह, विपद् व्यवस्थापन लगायतका काममा सहकार्य गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले नयाँ आर्थिक वर्षका योजनामा यस प्रकारको सहकार्यलाई अझ बृहत् रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले संस्थाहरूलाई सामाजिक रूपमा प्रभावकारी योजनाहरू ल्याउन आग्रह समेत गर्नुभयो।
नगरपालिकाका प्रशासन शाखा अधिकृत प्रज्वल अधिकारीले नगरका सामाजिक सहकार्यसम्बन्धी गतिविधिको जानकारी गराएपछि सुरु भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पालिका शाखा गौरादहका तदर्थ समिति सभापति संजीव कार्कीले विपद् व्यवस्थापनसम्बन्धी तालिम प्रत्येक वडामा सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा लायन्स क्लब अफ गौरादह वर्ष २०२६ का इलेक्ट प्रेसिडेन्ट सरिता कार्की, गौरादह जेसीज वर्ष २०२६ का अध्यक्ष ध्रुव अधिकारी लगायतले गौरादह नगरपालिकासँग विगतमा भएका सहकार्यको स्मरण गर्दै सामाजिक रूपमा सक्रिय रहन नगरको हौसला आवश्यक रहेको बताउनुभयो। उहाँहरूले आफूहरू समाजमा प्रभावकारी रूपमा काम गर्न प्रतिबद्ध रहेको धारणा राख्नुभयो।
कला माध्यमबाट चेतना प्रवाह तथा कला–संस्कृतिको संरक्षणका लागि स्थापित संस्था दर्पण कला संसारका अध्यक्ष प्रेम लावतीले कला–संस्कृतिको संरक्षण गर्दै सचेतना प्रवाह गर्ने कार्यमा स्थानीय सरकारको सहयोग अपरिहार्य रहेको बताउनुभयो।
दर्पण कला संसारका सचिव तथा कलाकार भुवन खड्काले समेत आफ्नो धारणा राख्नुभएको कार्यक्रमको सञ्चालन एफएम प्लस ८९.१ मेगाहर्जका प्रबन्ध निर्देशक युवराज भट्टराईले गर्नुभएको थियो भने व्यवस्थापन तथा प्राविधिक संयोजन स्टेसन संयोजक मञ्जु डाँगीले गर्नुभएको थियो। प्राविधिक सहयोग रमिसा कुँवरले गर्नुभएको उक्त कार्यक्रम दुई घण्टासम्म सञ्चालन भएको थियो।

