सुनसरीको देवानगञ्जमा दुई पक्षबीचको झडप पछि ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु

1 Min Read

साउन ११  – सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लागू गरिएको जानकारी दिएका छन्। कर्फ्यु सोमबार बिहान ७ बजेदेखि लागू भएको हो। कर्फ्यु अवधिमा हिँडडुल, भेला, जुलुस तथा सभा–सम्मेलन गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।

आइतबार राति दुई समूहबीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा प्रहरीको गोली लागेर आठ जना प्रदर्शनकारी घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

अहिले बिहानसम्म कप्तानगञ्ज क्षेत्रको अवस्था सामान्य रहे पनि थप अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पार्दै कर्फ्यु आदेश जारी गरेको जनाएको छ।

Share This Article
Leave a Comment