५ असोज, काठमाडौं । आज सेयर बजार १११.७० अंकले बढेको छ । साताको पहिलो दिन खुलेको बजारमा उतारचढावबिच सो बराबरको वृद्धि देखिएको हो । योसँगै बजार परिसूचक २६२३.६२ अंकमा पुगेको छ ।
अघिल्लो दिन अर्थात् बिहीबार बजार परिसूचक नकारात्मक सर्किट लाग्दै १६० अंकले घटेर बन्द भएको थियो । आइतबार सुरुमा उतारचढाव देखिएको बजार मध्याह्नपछि निरन्तर बढ्दै जाँदा उच्च वृद्धिसहित बन्द भएको हो ।
बिहीबारको गिरावटपछि सरकारले पुँजी बजारबारे अध्ययन गर्न दुई वटा काम गरेको थियो । पहिलो पुँजी बजारमा देखिएको विकृति अन्त्य गर्न सुझाव दिन भन्दै कार्यदल बनाएको थियो भने अर्कोतिर नेपाल स्टक एक्सचेन्जको अन्तिम मूल्य निर्धारण प्रणालीमा संशोधन गर्ने निर्णय गरेको थियो । दिनभरको कारोबारले उक्त निर्णयको सकारात्मक प्रभाव रहेको देखाएको छ ।

