स्मरणमा रहेको भक्का: स्थानीय स्वाददेखि समृद्धिको संवादसम्म

15 Min Read

विषयप्रवेशः  

यहि कात्तिक १३ गतेदेखि १५ गतेसम्म भएको वेमौसमी वर्षा र बढ्दो चिसोले यस वर्षको हिउँदे मौसमको विहानीको संकेत गर्दछ। यो चिसो मौसमले मलाई,  एक वर्ष अघिको मंसिर २१ देखि २५ गतेसम्म झापा यात्राको पुनः स्मरण गरायो। त्यस समयमा म प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको प्रमुख आतिथ्यतामा दमक नगरपालिका-३ दापगाछीस्थित “भ्यु टावर” उद्घाटन कार्यक्रम तथा गौरादह नगरपालिकामा रोकिएको महारानीझोडा क्षेत्रका जग्गाधनी प्रमाणपूर्जा वितरण कार्यमा सहजीकरण गर्न झापा पुगेको थिएँ। त्यो अवधिमा झापामा चिसो विहानबेलुका बढ्दै थियो।  काठमाडौँबाट पुगेका सरकारी कर्मचारीहरू दमकमै वास बस्यौँ र निर्धारित कार्यक्रमको तयारी, समन्वय तथा व्यवस्थापनमा निरन्तर सक्रिय थियौँ। यही क्रममा २३ गते आइतबारको दिन बिहानको खाजा खाने क्षण विशेष स्मरणीय रह्यो।

दमकको गोर्खा स्टोरबाट थोरै  ५०० मिटरजती पूर्वमा स्थानीय सञ्चारकर्मी मञ्जु डाँगीसँगको भेटमा उहाँले झापाको सांस्कृतिक पहिचान बोक्ने “भक्का” का बारेमा उत्साहपूर्वक चर्चा गर्नु भयो। स्थानीय परिवेशमा उदाउँदो सञ्चारकर्मीको रूपमा स्थापित मञ्जु डाँगी कार्यक्रमको रिपोर्टीङ्गको क्रममा सक्रिय देखिनु हुन्थ्यो। विहानको चिसो मौसममा हामीले भक्काको टेष्ट गर्ने भयौँ। भक्का बनाउने तरिका, सांस्कृतिक उपयोगिता र यसको बहुआयामिक सम्भावनाबारे  चर्चा भएको थियो  जसले भक्कालाई केवल परिकार मात्रै नभई समुदायको जीवनशैली, पहिचान र आर्थिक सम्भावनासँग प्रत्यक्ष जोडिएको विषय गर्भिलो लाग्यो। यस वर्ष पनि चिसो मौसमको प्रवेशले त्यो स्वाद, त्यो परम्परा, र त्यो संवाद पुनः मनमा ताजा बनेर आयो। भक्का खाँदा हामीबीच म:म: जस्ता मैदाका परिकारहरूको तुलनामा भक्का कति स्वास्थ्यकर, कति अर्गानिक र कति पौष्टिक विकल्प हो भन्नेसम्मका चर्चाहरू चलेका थिए। तर उत्साहका पछाडि एउटा गम्भीर दृश्य पनि स्मरण हुन्छ चोकचोक, सडकका किनार, गल्लीगल्लीमा बिहानैदेखि भक्का बनाउँदै बसेका राजवंशी, ताजपुरीया र मेचे दिदीबहिनीहरूको अथक श्रम, जसले झापाको स्थानीय संस्कृतिलाई त जोगाइराखेका छन्, तर उनीहरूको आर्थिक वास्तविकता भने पीडादायक चुनौतीपूर्ण  देखिएको स्मरण गराउँछ।

उच्च राजनीतिक नेतृत्वले “समृद्ध नेपाल, सुखी नेपाली” जस्ता नारा उच्चारण गरेको सुन्न र पढ्न पाइन्छ; तर ती नाराले सार्थकता पाउन ग्रामीण भेगका यस्ता महिलाहरूको जीवनस्तरमा वास्तविक परिवर्तन देखिनु आवश्यक छ। भक्का बनाउँदै दैनिक जीवन धानिरहेका ती दिदीबहिनीहरूको कथा उजागर गर्नु, उनीहरूको सीपलाई उद्यमशिलतामा मोड्नु  र उनीहरूको आर्थिक हैसियत उकास्न सहयोग पुर्‍याउन सक्नु भनेको स्थायित्वका लागि सम्भावनायुक्त सानो तर बलियो कदम हुनसक्छ।

आज भक्काको बहुआयामिक प्रसङ्ग प्रस्तुत गर्दै  गर्दा  केवल परिकारको चर्चा होइन, एक समुदायको पहिचान, एक आर्थिक सम्भावना, र एक सामाजिक रूपान्तरणको संभावित मार्ग को सम्भावना प्रस्तुत गर्दै छु।

पृष्ठभूमिः

राष्ट्र निर्माता पृथ्वी नारायण शाहले नेपाल चार वर्ण ३६ जातको फुलबारी भन्नु भएको र सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली  भनी राष्ट्रगानमा कवी प्रदीप कुमार राई (व्याकुल माइला ) ले अभिव्यक्त गर्नुभएको भावझै नेपालको कोशी प्रदेश अन्तर्गत पर्ने झापा जिल्ला जातीय, भाषिक तथा सांस्कृतिक दृष्टिकोणले अत्यन्तै विविधतायुक्त भूभागका रूपमा परिचित छ। यही सांस्कृतिक बहुरङ्गीयताले झापालाई साहित्यिक भाषिक सांस्कृतिक पर्यटनको सम्भावनायुक्त गन्तव्यका रूपमा उभ्याउने आधार प्रदान गरेकोछ।

झापाको सांस्कृतिक पहिचान मा “भक्का” दिवस  प्रमुख रूपमा उदाउँदै आएको छ, जसलाई ताजपुरिया, राजवंशी, मेचे तथा अन्य स्थानीय समुदायमा विशिष्ट सांस्कृतिक पहिचानको मान्यतापाएको छ। यी समुदायले तयार पार्ने  भक्का शुद्ध चामलको पिठोलाई पानीको बाफमा पकाई बनाइने  स्वास्थ्यकर, अर्गानिक र मौलिक परिकार हो, जसले स्थानीय जीवनचर्यामा मात्र होइन, सामाजिक सम्बन्ध सुदृढीकरण र सामुदायिक सांस्कृतिक निरन्तरतामा पनि महत्वपूर्ण भूमिका खेल्दै आएको छ।भक्का संस्कृति केवल सांस्कृतिक अभ्यासमा सीमित नभई आयआर्जन र स्थानीय उद्यमशीलता विकासको सम्भावना बोकेको आर्थिक क्षेत्रका रूपमा पनि विकसित हुँदैछ। भक्का उत्पादन, प्रशोधन, भण्डारण तथा बजार व्यवस्थापन जस्ता क्रियाकलापलाई स्थानीय सरकार र समुदायहरूले दिगो रूपमा प्रवर्द्धन गर्न सके जीवन विकास सूचकाङ्क, रोजगार सिर्जना, महिला सशक्तीकरण तथा सामुदायिक अर्थतन्त्रको सुदृढीकरणमा प्रत्यक्ष योगदान पुग्न सक्छ।

भक्का र भक्का दिवसलाई साँस्कृतिक पर्यटनका थिमेटिक आकर्षणका रूपमा विकास गर्न सके झापाको सांस्कृतिक धरोहर, जातीय पहिचान, खाद्य पर्यटन र स्थानीय उत्पादनको प्रवर्द्धनमा उल्लेखनीय प्रभाव पर्न जाने देखिन्छ। सरकारी संयन्त्रहरूले नीतिगत प्रयास, सांस्कृतिक अभिलेखीकरण, पर्यटन पूर्वाधार विस्तार तथा स्थानीय सीप प्रशिक्षण कार्यक्रमहरूलाई जोड दिएर यस्तो सांस्कृतिक सम्पदालाई दिगो आर्थिक क्षेत्रका रूपमा विस्तार गरी रूपान्तरण गर्न सकिन्छ। झापाको भक्का संस्कृति सामाजिक सहअस्तित्व, आर्थिक उन्नति, सांस्कृतिक संरक्षण, र पर्यटन प्रवर्द्धन यी सबै आयामहरूलाई एकैसाथ सम्बोधन गर्ने बहुआयामिक स्थानीय सम्पदाका रूपमा स्थापित गर्न सक्नु पर्छ।कोच राजवंशी समुदाय तथा पूर्वी तराईमा बसोबास गर्ने समग्र आदिवासी समुदायले पुस २९ गतेलाई राष्ट्रिय भक्का दिवसका रूपमा मनाउने गरेका छन् ।

वार्षिक सांस्कृतिक पर्वको मान्यता

प्रत्येक वर्ष पुस २९ गते पूर्वी तराइ विशेषतः झापा जिल्लामा राष्ट्रिय भाक्का दिवस मनाइन्छ, जसले स्थानीय खाद्य परम्परा, सांस्कृतिक पहिचान र सामुदायिक गर्वलाई औपचारिक मान्यता दिएको अवस्था छ।उत्पादन तथा उपभोगमा वृद्धिसँगै झापामा भाक्का दिवस औपचारिक रूपमा मनाउन थालिएको हो। विशेषतः २०७४ सालमा कोचिला गाभुर फ्रन्टद्वारा साधारण सभामार्फत दिवसलाई आधिकारिक मान्यता दिइँदा यसलाई संस्थागत, अभिलेखीय र रणनीतिक विस्तारको मार्ग खुलेको मानिन्छ।त्यसै गरी प्रदेश सरकार र झापाका स्थानीयतहले समेत यसलाई सामाजिक साँस्कृतिक पर्वको रूपमा मान्यता प्रदान गरिसकेको अवस्थामा यसलाई निरन्तरता दिन अत्यन्त जरूरी छ।

कोचराजवंशी, ताजपुरिया र मेचे सांस्कृतिक धरोहरको मूल स्रोत

भाक्का परिकार कोच राजवंशी समुदायको दीर्घकालीन परम्परा हो । जसले समुदायको मौलिकता, स्थानीय भेषभूषा, सांस्कृतिक रीतिथितिलाई निरन्तरता दिएको छ। यस परिकारले समुदायको पहिचानलाई राष्ट्रिय तहमा उजागर गरिरहेको छ।

शुद्ध, जैविक तथा स्वास्थ्यकर परिकारको मानक

चामलको पिठोलाई मात्र पानीको बाफमा पकाई तयार गरिने भएकाले भक्का पूर्णतः अर्गानिक र स्वास्थ्य खानेकुरा हो। कुनै मिसावटबिना तयार हुने यो परिकार जाडो यामको पौष्टिकता र सन्तुलित नास्ताको प्रतिरूप बनेको छ।यसले विद्यालय खाजाको रूपमा स्थान पाउन सकेमा विद्यार्थीहरू जङ्क फुडको सिकार हुने थिएनन।

परम्परागत सीमाबाट राष्ट्रिय लोकप्रियतासम्मको विस्तार

विगतमा सीमित रूपमा राजवंशी समुदायमै प्रचलित भाक्का आज विभिन्न जातजाति,  समूह र क्षेत्रीय पृष्ठभूमिबीच समान रुचिको परिकारका रूपमा विकसित भएको छ। उपभोग र उत्पादनको वृद्धिले यसलाई अन्तरसांस्कृतिक सद्भावको उदाहरणका रूपमा उभ्याएको छ।

सांस्कृतिक पर्यटनसँग प्रत्यक्ष जोडिने कार्यक्रमहरू

भाक्का दिवसका कार्यक्रमहरूमा विविध जातीय भेषभूषा, परम्परागत लोक संगीत, नृत्य, सांस्कृतिक झाँकी तथा समुदायका कला प्रदर्शनहरू समावेश हुन्छन्। यी कार्यक्रमहरूले झापाको सांस्कृतिक पर्यटनलाई आकर्षक, बहुआयामिक तथा अनुभवमुखी बनाउने क्षमता बोकेको छ।

परम्परा सामाजिक सद्भावको संरक्षण

राजवंशी समुदायमा जाडो छल्न छोरीचेलीलाई माइती बोलाई भक्का खुवाउने चलन आज पनि जीवित छ। जसले परिवारिक आत्मीयता, सम्मान र सामाजिक समन्वयलाई दृढ बनाएको छ। यस्ता परम्पराले पर्यटनमा “जीवित साँस्कृतिक अनुभव” (Cultural Living Experience) जस्ता अवधारणालाई बल प्रदान गर्दछ।

स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष योगदान

हिउँदे मौसम सुरु भएपछि राजवंशी बस्तीहरूमा बिहानैदेखि गल्ली तथा चोकमा भक्का बनाउने, बेच्ने र सेवा दिने परम्परा सक्रिय हुन्छ। यसले स्थानीय महिलाहरू, कृषक तथा उद्यमीहरूको आय वृद्धिमा उल्लेखनीय योगदान गर्दछ।

सांस्कृतिक विविधता समावेशी पर्यटनको अवसर

विभिन्न जाति, भाषा तथा सांस्कृतिक पृष्ठभूमिका जनताबीच अन्तरक्रिया र सहभागिताको क्षेत्र सिर्जना गर्दै यसले झापालाई समावेशी सांस्कृतिक पर्यटनमा उभ्याउने रणनीतिक अवसर प्रदान गर्दछ।

झापाको ब्रान्डिङका लागि भाक्का दिवस एक रणनीतिक उपकरण

भाक्काको उत्पादन, प्रस्तुति, प्रदर्शनी तथा सांस्कृतिक उत्सवलाई व्यवस्थित रूपमा प्रवर्द्धन गरेमा झापा जिल्लालाई Ethno-culinary Tourism Destination  का रूपमा स्थापित गर्न सकिने स्पष्ट सम्भावना देखा परेको छ। यसले स्थानिय खाद्यान्नको प्रविर्द्धन, सांस्कृतिक कूटनीति तथा प्रादेशिक आर्थिक विकासलाई दीर्घकालीन लाभ प्रदान गर्न सक्छ।

भक्काःग्रामीण महिलाको जीविकोपार्जन तथा सामाजिक साँस्कृतिक रूपान्तरणको आधार

  • स्थानीय सरकारका विकास कार्यक्रमहरूमा समावेश गरिने भक्का बनाउने सीपलाई लघु उद्यमशीलता सम्बन्धी पहल गर्नाले ग्रामीण महिलाको आर्थिक सशक्तीकरणको संभावना राखेको देखिन्छ। लक्षित समूह पहिचान गरी सीप सिकाइपछि आवश्यक उपकरण, स्रोत तथा सामग्री हस्तान्तरण गर्न सकिएमा महिलाहरूमा उद्यम सुरू गर्ने प्रेरणा, आत्मविश्वास र व्यावहारिक दक्षता उल्लेखनीय रूपमा विकसित हुन सक्छ।
  • सीप विकास कार्यक्रमको दीगो प्रभावकारिता सुनिश्चित गर्न नियमित अनुगमन, प्राविधिक परामर्श, प्रगति मूल्यांकन तथा सहजीकरण अनिवार्य हुन्छ। प्रारम्भिक प्रशिक्षणपछि बजार पहुँच, उत्पादन व्यवस्थापन र वितरण प्रणाली सबल नहुँदा धेरै कार्यक्रमहरू प्रारम्भिक सफलतामा सीमित हुने प्रवृत्ति देखिन सक्छ।
  • उद्यमशीलता विकासको मूल सिद्धान्त माछा मारेर खान दिनेभन्दा माछा मार्ने सीप सिकाउने भन्ने अवधारणामा आधारित भएकोले सीपपछिको कार्यान्वयन रणनीति स्थानीय शासनले प्राथमिकतामा राख्न आवश्यक हुन्छ। दिगो आय सिर्जना सीपमा आधारित उद्यम स्थापना र बजारिकरण क्षमतालाई सँगै जोडेर मात्र सम्भव हुन्छ।
  • हालका वर्षहरूमा स्थानीय तहहरूले एकल, आदिवासी तथा आर्थिक रूपमा कमजोर महिलालाई लक्षित गरी विभिन्न सीप प्रशिक्षण प्रदान गरे पनि व्यावहारिक तथ्यले मात्र १/२ प्रतिशत महिलामात्र व्यावसायिक रूपमा स्थापित हुन सफल भएको तथ्यहरुले देखाएको छ। यसले सीप चयन गर्दा स्थानीय आवश्यकता, उद्यम संभाव्यता र बजार संरचना पर्याप्त रूपमा विश्लेषण नगरिएको यथार्थ उजागर गरेको छ।
  • यस पृष्ठभूमिमा झापाका मेचे, राजवंशी तथा ताजपुरिया समुदायका महिलाहरूले परम्परागत रूपमा संरक्षित भक्का बनाउने सीपलाई लघु उद्यमशीलता कार्यक्रमसँग जोड्ने रणनीति अत्यन्त उपयुक्त छ। भक्का पूर्णतः स्थानीय स्रोतमा आधारित, स्वास्थ्यकर तथा पोषिलो भएकाले यसलाई शहरी तथा ग्रामीण दुवै क्षेत्रका ग्राहकका लागि Healthy Snack को रूपमा स्थापित गर्न सकिन्छ।
  • भक्कालाई स्थानीय बजार, विद्यालयको नास्ता, सामुदायिक कार्यक्रम, तथा निजी क्षेत्रका सप्लाइ चेनसँग एकीकृत गर्न सकिएमा सांस्कृतिक परिकारको संरक्षणसँगै ग्रामीण महिलाका लागि दिगो आय, घरेलु उद्योग विस्तार र स्थानीय अर्थतन्त्रमा वृद्धि सुनिश्चित गर्न सकिन्छ। यसका लागि ब्रान्डिङ, प्याकेजिङ, परिमार्जित उत्पादन प्रक्रिया र प्रशोधन केन्द्र स्थापना जस्ता अवयवहरू सरकारी संयन्त्रले सहज बनाइदिन आवश्यक हुन्छ।उदाहरणको लागि नेपालको थकाली समुदायले थकाली भान्छा घरथकाली समुदायको साझा प्रयत्नबाट अहिले नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रिय ब्राण्डिङ्गको मान्यता पाएको छ। तयस्तै झापाको पहिचान Healthy Snack  भक्का बन्न सक्छ।
  • परम्परागत सीप भएका महिला समूहहरू परिवारिक सहयोगको कमी, वित्तीय पहुँचको अभाव, बजार प्रवर्द्धन सीपको न्यूनता तथा व्यवसाय दर्ताका प्रक्रियागत जटिलताका कारण आर्थिक रूपमा पछि परिरहेका छन्। यी चुनौती समाधान गर्न सहकारी मोडेल, समूह उद्यम दर्ता, साधारण ऋणमा पहुँच र सरोकारवालाबीचको समन्वय अपरिहार्य मानिन्छ।
  • सीपलाई उद्यममा, उद्यमलाई आयमा र आयलाई जीवनस्तर सुधारसँग जोड्ने रूपान्तरणीय ढाँचा अवलम्बन गर्न सकेमा समुदायस्तरमा दीगो विकास सम्भव हुन्छ। यस उद्देश्यका लागि स्थानीय तहमात्र नभई प्रदेश तथा संघीय तहका संस्थाहरूले पनि नीतिगत, वित्तीय तथा प्राविधिक सहयोग सुदृढ गर्नु सक्तछन।
  • झापाको भक्का संस्कृतिलाई स्थानीय शासनका लघु उद्यमशीलता कार्यक्रमसँग व्यवस्थित रूपमा एकीकृत गरिएको खण्डमा ग्रामीण महिलाको आर्थिक स्थायित्व, सामाजिक सशक्तीकरण र सामुदायिक समृद्धिका दिशामा महत्वपूर्ण प्रगतिहरू हासिल हुने स्पष्ट सम्भावना छ। यस प्रक्रिया सफलतापूर्वक कार्यान्वयन भएमा भक्का केवल सांस्कृतिक परम्परा मात्र नभई  समुदायमा आधारित स्थानीय अर्थतन्त्रको दिगो मोडेलका रूपमा स्थापित हुने अपेक्षा गर्न सकिन्छ।

निष्कर्षः भक्का संस्कृति केवल स्थानीय परिकारको रूपमा मात्रै सीमित छैन। यो झापा क्षेत्रका मेचे, राजवंशी, ताजपुरिया तथा स्थानीय समुदायहरूको सांस्कृतिक पहिचान, जीविकोपार्जन र सामुदायिक एकताको महत्वपूर्ण आधार हो। यस परम्परागत सीपलाई समुचित पहिचान, उद्यमशीलता अभिवृद्धि तथा बजार अभिमुखीकरणका माध्यमबाट व्यवस्थित रूपमा विकास गर्न सकेमा ग्रामीण आर्थिक उत्थानका लागि दिगो मार्ग निर्माण गर्न सकिन्छ। स्थानीय सरकारको नीति निर्माण, लक्षित समूह पहिचान, सीपमुलक उद्यम एकीकृत कार्यक्रम, सामग्री तथा उपकरण हस्तान्तरण, र निरन्तर अनुगमन परामर्श जस्ता कार्यहरू परिवर्तनका मुख्य आधार बन्छन्। उद्यमशिलताको कार्यक्रममा एउटा भनाइ छ माछा मारेर खान दिने हैन माछा मार्न सिकाउने हो। विगतमा भएका लघु उद्यमशिलताका कार्यक्रमहरूले लगानीको ३ प्रतिशत पनि उपलब्धी हासिल गर्न नसकेको तथ्यहरू सार्वजनिक भएका छन्। यस्तो हुनुको कारण लक्षित समुदायको भावना र आवश्यकता नबुझ्दा विगतका प्रयासहरू टाउको दुख्दा पेट दुखेको दवाई दिएको जस्तो भएको पाइन्छ। हालका वर्षहरूमा स्थानीय तहहरूले एकल महिला, आदिवासी, तथा आर्थिक रूपमा कमजोर महिलाहरूलाई लक्षित गरी सिलाइ बुनाइ, पार्लर, डल कुशन लगायतका सीपहरूको बारेमा प्रशिक्षण दिएका छन्। तर, तथ्यगत अनुभवले देखाउँछ कि यस्ता सीप सिक्ने मध्ये केवल १/२ प्रतिशत महिलामात्र व्यावसायिक रूपमा स्थापित हुन सफल भएका छन्। अझ विडम्बना, सिलाइ कटाइ सिकेका महिलाहरूले पनि आफ्नै कपडा सिलाउन टेलरकहाँ धाउनु पर्ने अवस्थाहरू  आज पनि प्रत्ययका रूपमा देखिन्छन्।यसले स्थानीय वास्तविकता, महिलाको रुचि तथा बजार संभावनालाई गम्भीररूपमा विश्लेषण नगरी सीप चयन गरिँदै आएको संकेत गर्दछ। सरकारी संयन्त्र, निजी क्षेत्र, सहकारी संस्था, शैक्षिक क्षेत्र, सञ्चारमाध्यम तथा नागरिक समाजबीचको सहकार्यले भक्कालाई स्थानीय उत्पादनदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्ने सम्भावनालाई पुष्टी गर्दछ। विद्यालय पोषण कार्यक्रम, सामुदायिक कार्यक्रम, स्थानीय पर्यटन, र घरेलु उद्योग प्रवर्द्धनसँग भक्का सीपलाई जोड्ने हो भने ग्रामीण महिलाको आयआर्जन, सामाजिक सशक्तीकरण र जीवनस्तर सुधारमा उल्लेखनीय योगदान पुर्‍याउन सकिन्छ।त्यसैले, भक्का संस्कृतिको संरक्षण र व्यवसायीकरण दुवैलाई समान महत्त्व दिँदै समन्वयकारी रणनीति अघि सार्न सकेमा झापा जिल्लाको आर्थिक समृद्धि, सांस्कृतिक पुनर्जागरण र स्थानीय उत्पादनमा आधारित विकासको प्रभावकारी नमुना स्थापित हुन सक्छ।

सन्दर्भसूची

  • Acharya, M., & Bennett, L. (1983). Women and the subsistence sector: Economic participation and household decision-making in Nepal. World Bank.
  • Banskota, M., & Sharma, S. R. (1999). Rural development in Nepal: Issues and approaches. ICIMOD.
  • National Planning Commission. (2020). Nepal human development report 2020: Beyond income, beyond averages, beyond today. Government of Nepal.
  • Sen, A. (1999). Development as freedom. Oxford University Press.
  • Subedi, B. P. (2018). Traditional food systems, local livelihoods, and socio-cultural identity in Nepal. Journal of Tourism and Himalayan Studies, 9(1), 45–62.

लेखकः सार्वजिनिक प्रशासन, दिगो विकास र कानून तर्जुमा जस्ता कार्यका विश्लेषक हुन।

Share This Article
Leave a Comment