फागुन, २४– गएको बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।
१६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १५६ वटाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। ८ वटा क्षेत्रमा मतगणना जारी छ भने धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवारी खारेज गरिएकाले उक्त क्षेत्रको परिणाम निर्वाचन आयोगले औपचारिक विवरणमा समावेश गरेको छैन।
अहिलेसम्म घोषणा भएका १५६ निर्वाचन क्षेत्रमध्ये रास्वपाले १२० सिट जित्दै स्पष्ट अग्रता बनाएको छ। जारी मतगणनामा रहेका क्षेत्रमध्ये पनि रास्वपा ५ सिटमा अघि रहेको छ।अघिल्लो निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले यसपटक प्रत्यक्षतर्फ १७ सिट मात्रै जितेको छ। बाँकी गणना भइरहेका क्षेत्रमा कांग्रेस कतै पनि अघि छैन।
यसैगरी अघिल्लो चुनावको दोस्रो ठूलो दल नेकपा (एमाले) ले हालसम्म ७ सिट जितेको छ भने जारी मतगणनामा ३ सिटमा अग्रता लिएको छ।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत दलहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रत्यक्षतर्फ ७ सिट जितेको छ। तर बाँकी गणना भइरहेका क्षेत्रमा उक्त दलको अग्रता देखिएको छैन।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जुम्लामा मात्र एक सिट जितेको छ भने अन्य क्षेत्रमा अग्रता लिएको छैन।
चार महिनाअघि मात्र स्थापना भएको श्रम संस्कृति पार्टीले ३ सिट जितेको छ। यद्यपि जारी मतगणनामा उक्त दलको अग्रता छैन।
यसैबीच म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित हुनुभएको छ।
उता समानुपातिकतर्फको मतगणना पनि जारी छ। निर्वाचन आयोगका अनुसार अहिलेसम्म ४७ लाख ८९ हजारभन्दा बढी मत गणना भइसकेको छ।
गणना भएका मतमध्ये रास्वपाले २३ लाख ६७ हजार मत प्राप्त गर्दै झन्डै आधा मत हासिल गरेको देखिएको छ। त्यस्तै नेपाली कांग्रेसले ७ लाख ९९ हजार, एमालेले ६ लाख ८२ हजार र राप्रपाले १ लाख ७४ हजार मत प्राप्त गरेका छन्।
समानुपातिक प्रणालीतर्फ सिट बाँडफाँटका लागि विशेष गणितीय सूत्र प्रयोग गरिन्छ। प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेको दलले समानुपातिकतर्फ कुल सदर मतको कम्तीमा ३ प्रतिशत मत प्राप्त गरेमा मात्र सिट पाउने व्यवस्था छ। सिटको अन्तिम निर्धारण भने निर्वाचन आयोगले गर्नेछ।
हालसम्मको गणनाअनुसार ३ सिट जितेको श्रम संस्कृति पार्टीको मत प्रतिशत ३ प्रतिशत नपुगेको देखिएको छ।

