२१ पुस – बाजुराको बुढीगंगा नगरपालिकाका तत्कालीन नगरप्रमुख दिपकविक्रम शाहसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । नगर भवन निर्माणको ठेक्का प्रक्रियामा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
आरोपपत्रमा तत्कालीन नगरप्रमुख शाह, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन, अधिकृत छैटौं नरेन्द्र नाथ, इन्जिनियर पारस खाती, तत्कालीन सब–इन्जिनियर गणेशराज रेग्मी लगायत १४ जना प्रतिवादी रहेका छन् ।
अख्तियारका अनुसार ठेक्का प्रक्रियामा मिलेमतो गरी बोलपत्रका सर्तहरू बदनियतपूर्वक संशोधन गरिएको, प्रतिस्पर्धा सीमित पारिएको तथा बढी कबोल गर्ने कम्पनीलाई ठेक्का दिइएको पाइएको छ । सो प्रकरणमा ३ करोड २७ लाख ७८ हजार रुपैयाँ बिगो कायम गर्दै आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवाना तथा बिगो असुल उपरको माग दाबी गरेको छ । प्रतिवादीहरूले आपसी मिलेमतोमा आफूहरूलाई लाभ र नगरपालिकालाई हानि–नोक्सानी पुर्याउने उद्देश्यले कार्य गरेको अख्तियारको ठहर छ ।

