४ माघ- काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यवाहक प्रमुख (मेयर) को जिम्मेवारी सम्हालेकी छिन्। महानगरका मेयर बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै उनले स्वतः कार्यवाहक मेयरको जिम्मेवारी पाएकी हुन्।
स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार मेयरले पदबाट राजीनामा दिएमा उपमेयरले स्वतः कार्यवाहक प्रमुखको जिम्मेवारी पाउने कानुनी व्यवस्था छ। सोही प्रावधानअनुसार उपमेयर डंगोल कार्यवाहक मेयर बनेकी हुन्।
मेयर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुग्नुअघि औपचारिक रूपमा पदबाट राजीनामा दिएका हुन्। उनी केहीबेरमा रास्वपा केन्द्रीय कार्यालय पुग्ने तयारीमा छन्। पार्टी कार्यालयमा कार्यकर्ता तथा शुभचिन्तकहरूको बाक्लो भीड देखिएको छ।
दिउँसो १ बजे नै कार्यालय पुग्ने कार्यक्रम तय भए पनि राजीनामा लगायतका विषयमा अन्तिम निर्णय गर्न समय लाग्दा उनी केहीबेर ढिला भएका थिए। रास्वपामा औपचारिक प्रवेश गरेपछि बालेन शाहले झापा–५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन लड्ने तयारी गरेका छन्। हाल उनी रास्वपाका वरिष्ठ नेताको भूमिकामा रहेका छन्।
मेयर शाहको राजीनामासँगै काठमाडौं महानगरपालिकामा नेतृत्व परिवर्तन भएको छ भने कार्यवाहक मेयरका रूपमा सुनिता डंगोलले प्रशासनिक तथा विकाससम्बन्धी कामलाई निरन्तरता दिने बताइएको छ।


