११ माघ,गौरादह — गौरादह तथा गौरीगन्ज जेसीज वर्ष २०२६ का नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम शनिबार सम्पन्न भएको छ।
गौरादह–३ स्थित दशमी पार्टी प्यालेसमा आयोजित कार्यक्रममा गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदी प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। गौरादह र गौरीगन्ज जेसीजको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा गौरादह जेसीजको सन् २०२५ को कार्यकारिणी समितिले सन् २०२६ का लागि निर्वाचित नयाँ कार्यकारिणी समितिलाई पदस्थापन गरेको थियो। यसै अवसरमा यसै वर्ष स्थापना भएको गौरीगन्ज जेसीज समितिको पनि औपचारिक पदस्थापन गरिएको छ।

गौरादह जेसीजका निवर्तमान अध्यक्ष दुर्लभ कार्कीले वर्ष २०२६ का लागि गौरादह जेसीजका नवनिर्वाचित अध्यक्ष ध्रुव अधिकारी तथा गौरीगन्ज जेसीजका प्रथम अध्यक्ष सृष्टि भट्टराईलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो। त्यसपछि नवनिर्वाचित अध्यक्ष अधिकारीले गौरादह जेसीजका पदाधिकारी तथा सदस्यहरूलाई र अध्यक्ष भट्टराईले गौरीगन्ज जेसीजका पदाधिकारी तथा सदस्यहरूलाई सपथ ग्रहण गराउनुभयो।
गौरादह जेसीजको नवनिर्वाचित कार्यकारिणी समितिमा कार्यकारिणी उपाध्यक्षमा शीतल अधिकारी र एल्जिला पोख्रेल, कानुनी सल्लाहकारमा मनिषा भुजेल अधिकारी, महासचिवमा जेसी बालेन्द्र मान सिंह अधिकारी तथा कोषाध्यक्षमा जेसी गणेशराज ताजपुरिया चयन हुनुभएको छ। त्यस्तै उपाध्यक्षमा पृथ्वी अधिकारी, विन्दा भट्टराई (भूमिका), अनिता थापा र संजय थापा रहनुभएको छ।

यसैगरी गौरीगन्ज जेसीजको नवनिर्वाचित समितिमा कार्यकारिणी उपाध्यक्षमा प्रकाश राजवंशी र अभिषेक गडतौला, महासचिवमा प्रवेश श्रेष्ठ, कोषाध्यक्षमा अभिषेक राजवंशी तथा उपाध्यक्षमा धिरज माझी, उद्द्व गौतम र रुपा घिमिरे रहनुभएको छ।

कार्यक्रममा शुभकामना मन्तव्य दिँदै नगर प्रमुख छत्रपति सुवेदीले नगरपालिकाको सहकार्यमा जेसीजले विगतमा लागुऔषध दुर्व्यसन नियन्त्रणलगायतका क्षेत्रमा महत्वपूर्ण काम गरेको उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिइने बताउनुभयो। नगर उपप्रमुख जलवर्षा राजवंशी चौधरीले समाजका लागि गौरादह जेसीजले गरेको योगदानको प्रशंसा गर्दै दुबै जेसीजलाई सफल कार्यकालको शुभकामना दिनुभयो।

कार्यक्रममा गौरादह–४ का वडाध्यक्ष दुर्गामणि बस्नेत, गौरादह जेसीजका पूर्व अध्यक्ष हेमचन्द्र घिमिरे लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी, गौरादह–१ का वडाध्यक्ष नगेन्द्र भण्डारी, ३ का दिलिप भण्डारी, ५ का जगन्नाथ खनाल, जेसीजका पूर्व अध्यक्ष, पदाधिकारी, सदस्य तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

