घोषणापत्रमा ऊर्जा, पर्यटन र निर्माण क्षेत्र प्राथमिकतामा राख्न निजी क्षेत्रको आग्रह

2 Min Read

माघ १६,झापा — निजी क्षेत्रले आगामी निर्वाचनलाई लक्षित गरी राजनीतिक दलहरूले सार्वजनिक गर्ने घोषणापत्रमा अर्थतन्त्रका प्रमुख क्षेत्रहरू ऊर्जा, पर्यटन र निर्माणलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ। उद्योगी तथा व्यवसायीहरूले घोषणापत्र व्यवहारिक, कार्यान्वयनमुखी र रोजगारी सिर्जना गर्ने खालका हुनुपर्ने बताएका छन्।
उनीहरूका अनुसार अबको चुनावपछि देशमा राजनीतिक स्थायित्व कायम हुनुका साथै लगानीको वातावरण सुधार गर्न नीतिगत स्पष्टता र स्थिरता अत्यावश्यक रहेको छ।

स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान) का अध्यक्ष गणेश कार्कीले राजनीतिक दलहरूले कृषि, पर्यटन, सूचना प्रविधि र खनिज क्षेत्रको चर्चा गरे पनि ऊर्जा विकासका सवालमा अझै पर्याप्त ध्यान नदिएको टिप्पणी गर्नुभयो। उहाँका अनुसार देशलाई समृद्धिको बाटोमा लैजान ऊर्जा क्षेत्रको तीव्र विकासलाई घोषणापत्रको मुख्य एजेन्डा बनाउनुपर्छ।
त्यसैगरी, पर्यटन क्षेत्रका सरोकारवालाले दुई ठूला अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन सुनिश्चित गर्न दलहरूको ध्यानाकर्षण गराएका छन्। अर्बौं लगानीमा निर्माण भएका पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा नआएको भन्दै उनीहरूले घोषणापत्रमै स्पष्ट प्रतिबद्धता मागेका छन्।

नेपाल होटल एशोसिएसन (हान) का अध्यक्ष विनायक शाहले अब आउने सरकारले ५० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित ठोस योजना सार्वजनिक गर्नुपर्ने बताउनुभयो। पर्यटन क्षेत्रलाई रोजगारी, विदेशी मुद्रा आर्जन र समग्र आर्थिक चलायमानताको प्रमुख आधारका रूपमा लिइएको छ।
निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रका लागि ‘छाता ऐन’ आवश्यक रहेको औँल्याउनुभयो। यस्तो कानुनी संरचनाले निर्माण उद्योगलाई व्यवस्थित बनाउने, ठूलो मात्रामा रोजगारी सिर्जना गर्ने र वैदेशिक रोजगारीमा रहेका युवालाई स्वदेश फर्काउन सहयोग पुग्ने उहाँको भनाइ छ।

उद्योगी–व्यवसायीहरूले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रमाथि हुने अनावश्यक आक्रमण रोक्न राजनीतिक दल र नागरिक दुवैबाट स्पष्ट प्रतिबद्धता चाहिएको बताएका छन्। नीति अस्थिरता, भ्रष्टाचार र नकारात्मक प्रचारका कारण निजी क्षेत्र त्रास र अन्योलमा परेको उल्लेख गर्दै उनीहरूले लगानीमैत्री वातावरण निर्माण सबै सरोकारवालाको साझा जिम्मेवारी भएको बताएका छन्।

Share This Article
Leave a Comment